काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथी लाठी चार्ज गरेको छ ।
प्रहरीको लाठीचार्जबाट घाइते डा. सिंहको टाउकोमा गहिरो चोट लागेको र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसद्लाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा प्रहरीले सडक खाली गरेको थियो । सोही समयमा डा. सिंह सर्जरी सकेर साइकलमा घर जान निस्केका थिए । वीर अस्पतालअगाडि रहेको आकासेपुलमुनि पुगेपछि उनीमाथि त्यहाँ खटिएका प्रहरीले लाठीचार्ज गरेका हुन् । फुटपाथबाट साइकल डोहो-याउँदै हिँड्ने क्रममा उनलाई प्रहरीले रोकेका थिए । वीर अस्पतालअघिको आकाशेपुलसँगैबाट साइकलभित्र छिराउन नमिल्ने भएपछि उनी फुटपाथमै अडिएर बसेको र सोही क्रममा सामान्य विवाद हुँदा प्रहरीले उनीमाथि कुटपिट गरेको हो ।
कुटपिटको विरोधमा आइतबार आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प
उक्त घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । यस्तै चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले डा. सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले शनिबार विज्ञप्ति जारी गरी नेपाली नागरिकहरुकै शासनको रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बहानामा दुःख, सास्ती दिनु अशोभनीय भएको बताएका छन् । ‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वाभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौँ जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।
संघले शुक्रबार पनि विज्ञप्ति जारी गरी अस्पताल परिसरभित्रै प्रहरीले डाक्टरमाथि लाठीचार्ज गरेको भन्दै विरोध गरेको थियो । संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरी स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचयपत्र देखाउँदादेखाउँदै पनि अस्पताल परिसरभित्रै प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद र अस्वभनीय कार्य भएको भएको उल्लेख गरेका थिए । साथै संघले उक्त घटनामा संलग्न दोषी सुरक्षाकर्मीलाई अविलम्ब ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
दोषीमाथि कानुनी कारबाही नगरिए आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने संघले चेतावनी दिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नुपर्ने माग गरेका छन् । उनले एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।
डाक्टरमाथि लाठीचार्ज गर्ने प्रहरी निलम्बित
राष्ट्रपतिको सवारीको क्रममा डाक्टरमाथि लाठीचार्ज गर्ने प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त घटनाको अनुसन्धान पनि भइरहेको जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा अनुसन्धान गर्न कारबाही प्रक्रिया अगाडि बढाइएको र सोहीअनुसार हवलदार गुरुङलाई निलम्बन गरिएको हो ।
स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा सांघातिक आक्रमण भएको थियो ।