काठमाडौं । नेपालको उद्योग क्षेत्रमा आउने वैदेशिक लगानी प्रतिबद्धता चार खर्ब रुपैयाँभन्दा बढी रहेको छ । हालसम्म प्रत्यक्ष विदेशी लगानीस्वरुप उद्योगको लागि आएको लगानी प्रतिबद्धता चार खर्ब ३७ अर्ब रुपैयाँ रहेको उद्योग विभागले जनाएको छ । समीक्षा अवधिमा पाँच हजार छ सय ७७ वटा विदेशी लगानी स्वीकृत गरिएको छ भने लगानीसँगै तीन लाख सात हजार २५ जनाको रोजगारी प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
यसैबीच चालू आर्थिक वर्षको सात महिनाको अवधिलाई हेर्दा भने विदेशी लगानी घटबढ भएको पाइन्छ । चालू आवको सात महिनाको अवधिमा १८ अर्ब ६३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । समीक्षा अवधिमा विदेशी लगानी स्वीकृति संख्या एक सय ४४ वटा र आठ हजार छ सय पाँच जनालाई रोजगारीको प्रतिबद्धता समेत व्यक्त गरिएको छ । समीक्षा अवधिमा कृषि तथा वन पैदावरमा आधारित दुई सय ९५ वटा, ऊर्जामूलक ९१ वटा, सूचना, प्रसारण तथा सञ्चार प्रविधि एक सय २७ वटा, उत्पादनमूलक एक हजार दुई सय ७७ वटा, सेवामूलक एक हजार आठ सय ८७ वटा र पर्यटनमूलक एक हजार आठ सय ७० वटा, पूर्वाधारमूलक ५८ वटा खनिजमूलक ७२ वटा उद्योग दर्ता विभागमा दर्ता गरिएको छ । उद्योगको हकमा भने साना चार हजार सात सय २९ वटा, मझौला छ सय २४ वटा र ठूला तीन सय २४ वटा दर्ता गरिएको छ । लगानीकर्ताको हकमा नौ सय ४६ जना लगानीकर्ता, एक सय २२ जना प्रतिनिधि र तीन सय १७ जना आश्रित लगानीकर्ता आएका हुन् । समीक्षा अवधिमा विज्ञापनमार्फत नौ जना र प्रविधि हस्तान्तरण सम्झौतामार्फत तीन जना लगानीकर्ता आएका हुन् ।
चालू आवको माघ महिनामा मात्र एक अर्ब ३९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । समीक्षा अवधिमा विदेशी लगानी स्वीकृति संख्या १५ वटा र आठ सय ६३ जनालाई रोजगारीको प्रतिबद्धता व्यक्त गरिएको छ । समीक्षा अवधिमा पूर्वाधारमूलक एउटा, उत्पादनमूलक चारवटा, पर्यटनमूलक तीनवटा र सेवामूलक सातवटा विभागमा दर्ता गराइएको छ । साना १३ वटा, मझौला दुईवटा दर्ता गरिएको छ ।
लगानीकर्ताको हकमा माघ महिनामा ७२ जना लगानीकर्ता, २४ जना लगानीकर्ताका प्रतिनिधि र ४७ जना आश्रित लगानीकर्तामार्फत लगानी आएको बताइएको छ । समीक्षा अवधिमा विज्ञापनमार्फत छ जना र प्रविधि हस्तान्तरण सम्झौतामार्फत दुई जना लगानीकर्ता आएका हुन् । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ ।
राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ । आठ महिनाको अवधिमा सबैभन्दा बढी चीन, फ्रान्स, भारत, इटाली, जापान लगायतका १२ मुलुकबाट लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
नेपालको औद्योगिक क्षेत्रमा सयभन्दा बढी मुलुकहरुबाट लगानी आउने गरेको पाइन्छ । तर, बढी र निरन्तर लगानी आउने भनेको चीन, भारत लगायतका मुलुक रहेको विभागका अधिकारीहरु बताउँछन् । यस्तै विदेशी लगानीकर्ताहरुले यहाँ आएर लगानी मात्र गर्ने नभई त्यसबापत फाइदा पनि लिएर जाने उनीहरुको भनाइ छ । एकल विन्दु केन्द्र सञ्चालनमा आएको कारण लगानी ल्याउन र लाभांश लैजान उनीहरुलाई सहज भएको पाइन्छ । विदेशी लगानी विभागका साथै लगानी बोर्डमार्फत आउने गरेको पाइन्छ । (आर्थिक दैनिकबाट)