काठमाडौं । गुल्मीको ईस्मा गाउँपालिका-१ मल्दी बस्ने ८४ वर्षीया पवित्रा खत्रीको आगलागीमा जलेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । यसैगरी, स्याङजा, फेदीखोला गाउँपालिका-१ नैखुस्थित बारीमा पात पतिङगर जलाउने क्रममा आगलागी हुँदा कास्की पोखरा महानगरपालिका-१७ बेलघारी बस्ने ३३ वर्षीय हरि नेपालीको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने देव प्रसाद सुवेदीको उक्त बारीमा सुन्तलाको बिरुवा रोप्नको लागि खाल्डो खनी पात पतिङगर जलाउने क्रममा हरिको उक्त आगोमा परी मृत्यु भएको हो । यस्तै, जुम्ला, चन्दननाथ नगरपालिका-६ बसपार्क बस्ने मेघराज न्यौपानेको घरमा ग्याँस लिक भई शनिबार दिउँसो आगलागी हुँदा घर आंशिक रुपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।