काठमाडौं । नेपाल एथलेटिक्स संघले १६औँ एसियन क्रस–कन्ट्री च्याम्पियनसिप सम्पन्न गर्न तीनवटा संस्थासँग सम्झौता गरेको छ । संघले फागुन २३ गतेदेखि गोकर्ण फरेस्ट रिसोर्टमा १६औँ एसियन क्रस–कन्ट्री च्याम्पियनसिपको आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिता सम्पन्न गर्नको लागि संघले बागमती प्रदेश खेलकुद विकास परिषद्, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र
एमएडब्ल्यु इन्टरप्राइजेज प्रलिसँग सम्झौता गरेको जानकारी दिएको छ । शुक्रबार होटल मल्ल, लैनचौरमा आयोजित कार्यक्रममा एसियन एथलेटिक्स एसोसिएसन (एएए)ले दुई–दुई वर्षमा सञ्चालन गर्दै आएको एसियन क्रस–कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना गर्नको लागि बागमती खेलकुद विकास परिषद्ले सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा संघका अध्यक्ष राजीव विक्रम शाह र परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले हस्ताक्षार गरेका हुन् ।
एनएलआईसीएलको तर्फबाट प्रमुख प्रेमा राज्यलक्ष्मी सिंहले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा हस्ताक्षर गरिन् । त्यस्तै, एमएडब्ल्यु इन्टरप्राइजेजको तर्फबाट मार्केटिङ म्यानेजर रमेश दनेखुले हस्ताक्षर गरेका थिए ।