काठमाडौं । यससाता सेयर बजार परिसूचक दुई हजार २२ दशमलव ६४ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८४ दशमलव ३६ विन्दुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुई सय ६० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख २६ हजार पाँच सय १६ पटकको कारोबारमा एक करोड ७१ लाख ९७ हजार दुई सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब २७ करोड ३६ लाख १९ हजार तीन सय २७ रुपैयाँँ पुगेको छ । यो कारोबार रकम गतसाताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो ।
गतसाता भने धितोपत्र बजारमा दुई सय ५६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार उक्त साता एक लाख ५६ हजार छ सय ६८ पटकको कारोबारमा दुई करोड २३ लाख ८८ हजार तीन सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब २५ करोड २२ लाख ७३ हजार चार सय ८४ रुपैयाँँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । खुलेमध्ये भने दोस्रो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने चौथो दिन उकालो लागेको थियो ।
दोस्रो दिन बजार परिसूचक २३ दशमलव ६० अंकले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि चार दशमलव ९१ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक ३३ दशमलव ५७ अंकले उकालो लागेर दुई हजार ८० दशमलव ३८ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८१ अंकले उकालो लागेर तीन सय ९६ दशमलव ३४ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ५७ दशमलव ७४ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९८ अंकले ओरालो लागेर तीन सय ८४ दशमलव ३६ विन्दुमा झरेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा हिमालयन डिष्ट्रिलरी प्रालि, एनआईसी एसिया बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।