काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाका अनुसार नुवाकोटको साबिक थान्सिङ गा.वि.स. वडा नं. ७ हाल लिखु गाउँपालिका वडा नं. ५ स्थायी घर भई काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु बस्ने २८ वर्षीय रुवि खतिवडालाई बुधबार काठमाडौंको वसुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो ।
खतिवडाले २०७७ मंसिर १४ गते प्रभु बैंकको बबहरमहल शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो । खतिवडाको हकमा बैंकिङ कसुर भएको ठहर गर्दै अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र ५० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।