काठमाडौं । अध्यक्ष रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले बताएका हुन् ।
श्रेष्ठ कैलाली- १ बाट निर्वाचित सांसद हुन् । नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपति उम्मेदवारमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो । जसपाले यादवलाई उठाउने निर्णय गरे पनि निर्वाचन आयोगले भने उपराष्ट्रपतिमा पुरुषको मनोनयन दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।
उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ। ‘निर्वाचन आयोगले समेत उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेकाले हामीले महिलालाई नै उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेका हौं’, नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक चौधरीले भने ।