काठमाडौं । केन्द्रीय सर्भरमा समस्या आएको कारण स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । आइतबार बिहानै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित गरिएको बताएको छ ।
बिहानैबाट सर्भरमा समस्या आएको हुँदा देशभरका स्वास्थ्य बीमाका सर्भर चलेका छैनन् स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शम्भु प्रसाद ज्ञवालीले बताए ।
केही हप्तादेखि नै सर्भरमा पटक–पटक समस्या आइरहेको ज्ञवालीको भनाइ छ । के कारणले यस्तो भइरहेको छ हामीले त्यसको कारण खोजिरहेका छौं उनले भने ।
शनिबार स्वास्थ्य बीमाको काम बन्द हुने भएकाले आइतबार विहानैदेखि अस्पतालहरुमा सेवाग्राहीहरुको भीड बढिरहेको छ । सर्भरमा समस्या आएको भन्दै अस्पतालहरुले बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।