सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युरोपियन युनियनका राजदूतको टोलीसँग बिहीबार भएको भेटवार्तामा ऊर्जा क्षेत्रको प्रबर्द्धनमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्ताका क्रममा जलविद्युत्का साथै स्वास्थ्य, शिक्षाको विकास लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले राससलाई जानकारी दिए ।
उनीहरुबीच नीति निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो । युरोपियन युनियनका राजदूत नोना डिप्रेजको नेतृत्वमा रहेको टोलीमा युरोपियन युनियनका सदस्य राष्ट्र जर्मन फिनल्याण्ड र फ्रान्सका राजदूतसमेत सहभागी भएका थिए । राजदूतको टोलीले सुदूरपश्चिका डडेलधुरा र डोटीलगायतका जिल्लाको स्थलगत भ्रमण गरेर धनगढी फर्किएको छ ।
जर्मन सरकारको सहयोगमा डडेलधुरामा अस्पताल निर्माणाधीन छ । टोलीले सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अवलोकनका क्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेय र अस्पतालका अध्यक्ष निर्मल शाहसँग छलफल गरेको थियो । धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाथारुसँग पनि यो टोलीले भेटगरी नगरको विकासमा गर्न सकिने सहयोगका विषयमा समेत छलफल गरेको थियो ।
युरोपियन युनियनका सदस्य राष्ट्रको सहयोगमा सुदूरपश्चिमा स्वास्थ्य, शिक्षा, पोषणलगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालनमा छन् ।