काठमाडौं । नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।