काठमाडौं, चैत ११ कोरोना भाइरस संक्रमण रोकथामका लागि निर्माण व्यवसाय विकास परिषद्ले एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय निर्माण व्यवसाय विकास परिषद्ले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ जम्मा गर्ने जनाएको हो । नेपाल निर्माण व्यवसायी महासंघसहित निर्माण व्यवसायसँग सम्वन्धित मन्त्रालय तथा निकायहरूको प्रतिनिधित्व रहने निर्माण व्यवसाय विकास परिषद्को गत बुधबार बसेको बैठकले कोरोना भाइरस रोकथामका लागि रकम सहयोग गर्ने निर्णय गरेको थियो । उक्त निर्णयानुसार परिषद्का अध्यक्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको सोमबार बसेको बैठकले नेपाल सरकारले आइतबार स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।