काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परी थुनामा रहेका तीनजना धरौटी बुझाएर छुटेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ मा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । धरौटी बुझाउन नसकेपछि उनीहरू जेल चलान भएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार रुपैयाँ धरौटी बुझाएपछि उनीहरु मंगलबार रिहा भएका हुन् । धरौटी नबुझाएका कारण सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का केन्द्रीय कारागार पठाइएका थिए ।
गत मंगलबार स्वतन्त्र अभियान नेपालका केही कार्यकर्ताले प्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गरेका थिए। उनीहरूले बैंकको व्याज महँगो भएको, जनताले दुःख पाएको र ब्याजदर घटाउनुपर्ने लगायतका माग राखी प्रदर्शनमा उत्रिएका थिए ।