काठमाडौं । अहिलेसम्म उठेको राजस्वले चालू खर्च धान्न सकेको छैन । यही गतिले मात्र राजस्व संकलन हुने हो भने चालू आर्थिक वर्षको १२ महिनाको राजस्वले कर्मचारीलाई तलब खुवाउन पनि पुग्न सक्ने अवस्था छैन । चालूतर्फकै अन्य प्रशासनिक खर्च धान्नका लागि पनि सरकारले ऋण उठाउनुको अर्को विकल्प छैन । पुँजीगत खर्चको भुक्तानीका लागि त ऋण खोज्न पनि नयाँ स्रोत पत्ता लगाउनुपर्ने अवस्था छ ।
शुक्रबार अर्थमन्त्री भएपछि विभिन्न व्यावसायिक संस्था र आफ्नै मन्त्रालयका महाशाखाहरुको रिपोर्टिङ सुनेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार राजस्व चुहावट रोक्नका लागि गृहमन्त्रीसहितको सुरक्षा अधिकारीहरुसँग छलफल गरे ।
व्यापारी तथा मन्त्रालयकै अधिकारीहरुले भन्सार राजस्वलगायत अन्य क्षेत्रको राजस्व चुहावट रोक्नका लागि सुरक्षाकर्मीको पूर्ण साथ चाहिने बताएपछि अर्थमन्त्रीले गृहमन्त्रीसहितको टोलीसँग छलफल गरेका हुन् । अर्थमन्त्री बैंकरहरुसँग पनि छलफल गरेका छन् । अर्थात् ऋण दिने र ऋण लिनेका सबै गुनासो सुन्ने काम अर्थमन्त्री महतले गरेका छन् तर उनले कसरी अर्थतन्त्र उकास्ने भन्ने अझै स्पष्ट भेउ पाइसकेका छैनन् । सबैका माग, गुनासा र सुझाव सुन्दै अर्थमन्त्रीले अध्ययन गरिरहेका छन् । तर, उनले ठोस धारणा बनाइसकेका छैनन् । उनले सोमबारसम्मको छलफलपछि भने आफूले निजी क्षेत्रको मनोबल उकास्ने गरी केही दिनमै केही नयाँ घोषणा गर्ने बताएका छन् । तर, त्यसले अर्थतन्त्र उकास्न कति सहयोग गर्छ त्यो भने घोषणापछि मात्र थाहा होला । निजी क्षेत्रको मनोबल उकास्ने प्रतिबद्धता व्यक्त गरे पनि प्रत्यक्ष देखिने सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । सोमबार अर्थमन्त्री महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट समितिको बैठक नै बोलाएको कारण सबै सुरक्षा निकायका अधिकारीहरु अर्थ मन्त्रालय पुगेका थिए ।
गृहमन्त्रीसमेत सदस्य रहने बैठकमा गृहसचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सहभागी थिए । उनीहरुले राजस्व संकलनमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । तर, धेरैको आशंका सुरक्षा निकायमै छ, उनीहरुले पूर्ण सहयोग नगरेको कारण राजस्व संकलनमा असर परिरहेको छ ।
अर्थमन्त्री महतले आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गरेका थिए भने सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पुँजीबजार फोरमसँग छलफल गरेका थिए ।
दुवै दिनको छलफलको अन्तिममा अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अर्थमन्त्री महतलाई निजी क्षेत्रले नीति निर्माता र नियामकको अस्थिरताका कारण अर्थतन्त्रमा समस्या आएको भन्दै नेपालको पुँजीबजारमा ठूलो सङ्ख्यामा लगानीकर्ता जोडिएकाले उनीहरुको मनोविज्ञान बुझिदिन आग्रह गरेका थिए ।
नेपाल बैंकर्स सङ्घसँग बैंकको ब्याजदर, तरलता अभाव र कर्जा असुलीमा देखिएका समस्याबारे अर्थमन्त्री महतले छलफल गरेका थिए । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग परिसङ्घसँगको छलफलमा पनि अर्थमन्त्री महतले अहिले आर्थिक क्षेत्रको खस्किँदा मनोबल उकास्न आपूm लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।