काठमाडौं । बैंकिङ प्रणालीमा फेरि तरलता अभाव देखिन थालेपछि नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको छ । राष्ट्र बैैंकले आज (बिहीबार) १४ दिन अवधिको रिपो जारी गरेर सो रकम बजारमा पठाउन लागेको हो । अघिल्लो बिहीबार पनि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बुधबार सूचना जारी गरेर आज बिहीबार रकम बजारमा पठाउनलागेको जनाएको छ । २०८० वैशाख ७ गते परिपक्व हुने रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र सोभन्दा माथि पाँच करोडले भाग जाने रकमले जारी गर्न लागिएको रकमसम्म माग गर्न सक्नेछन् ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।
राष्ट्र बैंकले यसअघि चैत १७ गते २५ अर्ब रुपैयाँको ट्रेजरी बिल्स सोझै खरिद गरेको थियो । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता अभाव देखिएमा वित्तीय औजारको रुपमा ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल (आउट राइट पर्चेज) पनि प्रयोग गर्ने गर्दछ ।
पछिल्लो एक सताको अन्तरालमा केन्द्रीय बैंकले ४५ अर्ब रुपैयाँ बजारमा पठाउन खोज्नुले वित्तीय प्रणालीमा अझै तरलता अभाव छ भन्ने देखाउँछ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव चार तीन प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाहरुसँग अहिले ५४ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप छ भने ४८ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरुको निक्षेप ४७ खर्ब ८९ अर्ब रुपैयाँ र कर्जा प्रवाह ४२ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । यस हिसाबले बैंक तथा वित्तीय संस्थाहरु अझै पनि दुई खर्ब हाराहारी लगानी गर्न सक्ने क्षमता राख्छन् ।
अहिले अन्तर बैंक ब्याजदर पनि सात प्रतिशत छ । यो हिसाबले हेर्दा बैंकहरुले लगानीयोग्य रकमको अभाव सामना गर्नुपरेको छैन । तर बजारको वास्तविकता अर्कै भएको कारण केन्द्रीय बैंकले लगातार बजारमा पैसा पठाइरहेको छ ।
बैंकरहरुका अनुसार २१ वाणिज्य बैंकमध्ये करिब एक दर्जन बैंकको सीडी रेसियो ९० प्रतिशतको नजिक छ । खासगरी राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंकलगायतका केही बैंकको सीडी रेसियो तुलनात्मक रुपमा कम छ । औसतमा हुनेहरुको पनि ८८ प्रतिशत हाराहारी छ ।
बजारमा तरलता बढेर ब्याजदर घट्ने अपेक्षा गरिएको छ । तर धेरै बैंकहरु अहिले पनि तरलता अभावबाट डराइरहेका छन् । एक साताअघि बैंकर्स संघले आयोजना गरेको पत्रकार भेटघाटमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अहिले तरलता केही सहज भए पनि असारपछि चाप पर्नसक्ने सम्भावना रहेको बताएका थिए ।
सरकारी खर्च बढ्न नसकेका कारण पनि वित्तीय प्रणालीमा पैसा आउनसकेको छैन । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटवार्तामा निर्माण क्षेत्रको रकम भुक्तानी गरेर बजारमा तरलता प्रवाह गर्न आग्रह गरेका थिए । राष्ट्र बैंकको टोलीले सरकारले पुँजीगत खर्चकोे रकम निकासी कम गरेको कारण बजारमा पर्याप्त पैसाको अभाव भएको बताएको थियो ।
तर सरकार खर्च क्षमता बढाउनसक्ने अवस्थामा छैन । सरकार आफैँले १० प्रतिशत माथिको ब्याजदरमा ऋणपत्र बेचेर कर्मचारीलाई तलबभत्ता खुवाइरहेको छ । यस्तो अवस्थामा सरकारले खर्च गर्ला र तरलता बढ्ला भन्ने सम्भावना कम रहेको बैंकर बताउँछन् ।
रिपो के हो ? बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा समितिको निर्णयानुसार तोकिएबमोजिमका ऋणपत्रको धितोमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो । यस उपकरणको निष्काशनका दिन बोलकबोलमा सफल बोलकर्ताको (बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरु) बैंकमा रहेको खातामा बाँडफाँटअनुसारको रकम जम्मा गरिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ । — स्रोत : नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन मार्गदर्शन, २०७४