काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरूका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरूसँग बिहीबार भएको अन्तरक्रियामा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् । उनले कारोबार कम भए पनि बीमालेख नवीकरणमा समेत ध्यान दिन निर्देशन दिए ।
‘मधेश प्रदेशमा बीमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरू नयाँ ढङ्गले अगाडि बढ्नुप-यो । योग्य र दक्ष बीमा अभिकर्ताका माध्यमबाट बीमा व्यवसाय गर्नाले बीमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुप-यो’, उनले भने । बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउने भएकाले बीमा गर्दा मिटरब्याजीलाई निरुत्साहित गर्ने पनि बताए ।
अध्यक्ष सिलवालले बीमा सरेन्डर गर्नेहरू बढेकाले त्यसमा ध्यन दिन समेत निर्देशन दिए । उनले भने ‘बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरूले नयाँ बीमालेख र बीमाशुल्कमा मात्र ध्यान दिन भएन, बीमालेख नवीकरणमा पनि ध्यान दिनुप-यो । ल्याप्स र सरेन्डरको अवस्था आउन नदिने गरी काम गर्नुप-यो ।’
उनले बीमा व्यवसायमा कुनै समस्या भए विकल्पसहित आए प्राधिकरण समाधान गर्न तयार रहेको बताए । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।