पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा बद्रीलाल नेपालीले एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भए । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधिसहित उनले रु. ५१ हजार पुरस्कार पनि प्राप्त गरे ।
फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले रु. ३५ हजार र नेपालले रु. २५ हजार पुरस्कार प्राप्त गरे । चौथो भएका पुकार राईले रु. २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले रु. १५ हजार पुरस्कार प्राप्त गरे ।
पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए ।