काठमाडौं । सिंहदरबारको फोहोर नउठेपछि सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनसम्बन्धी बैठक बोलाएको केहीबेरमै बसेर सकिएको छ। बैठकमा केही निचोडमा पुग्न नसकेको कारण केही समयपछि पुनः बैठक बस्ने योजना रहेको परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले बताएका छन् ।।
सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट काठमाडौं महानगरले विगत ११ दिनदेखि फोहोर उठाएको छैन । सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने मेयर बालेन शाहले अडान लिएका छन्।
परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ। फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ।