काठमाडौं । हिमाल किन आरोहण गरिन्छ ? भन्ने विषयमा नेपालका नामुद भुगोलविद्, पर्वतारोही, योजनाविद्, प्रशासक, चित्रकार, लेखक, खेलाडी, खोजकर्ता तथा अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भनेका थिए, ‘पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चिलको उडाइसँग डाहा लाग्छ भनेपछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रुप हो । पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र्र जीव पाउँछ र ... ।’ –सन्दर्भ स्रोतः डाक्टर हर्क गुरुङद्वारा लिखित, ‘विषय विविध’ नामक किताब ।
हुन पनि विदेशी विभिन्न देशका पर्वतारोहीहरू नेपालका हिमाल चढ्न आउने क्रममा नेपाल सरकारलाई ठूलो पैमानामा सलामी दस्तुर अथवा भनौँ ‘रोयल्टी’ तिर्ने गरेका छन् भने, नेपालमा रहने क्रममा उनीहरू ठूलै रकम खर्च गर्छन् । खासगरी सलामी दस्तुरको कुरो गर्दा विश्वकै अग्लो हिम चुचुरो चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्ट आरोहण गर्नका लागि विदेशी पर्वतारोहीले एक व्यक्तिबराबर ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ साथै उनीहरूले साथमा लाने सरदार, क्लाइम्बिङ गाइड, हाई एल्टिच्युड पोर्टर, कुक, किचन ब्वाइ आदिलाई पनि राम्रै रकम तिरेर लगेका हुन्छन् । त्यस्तै अन्य लोकल भरिया, याक, जोप्क्यो पनि आफ्नो सरसामान बोकाउन लैजान्छन् । उनीहरूले पनि राम्रै पारिश्रमिक पाउने गरेका छन् न् ।
जे होस्, हर्क गुरुङका अनुसार सन् १९५९÷६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना व्यक्तिबराबर छ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ । किनभने, सगरमाथा आरोहणका लागि विदेशी पर्वतारोहीले रोयल्टी मात्रै एक जनाबराबर ११ हजार अमेरिकी डलर तिर्छन् भनी लेखिसकिएको छ । नेपालमा हिम रेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मिटरभन्दा माथिका) १७ सयभन्दा बढी छन् । पनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि चार सय १४ वटा हिमाल मात्रै आरोहणका लागि खुला गरेको छ । अथवा भनौँ ती हिमालहरूलाई कानुनीरूपमा मान्तयता दिएर कुनै पनि देशका पर्वतारोहीबाट निश्चित रकमबराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्नेगरेको छ । हालसम्म चार सय १४ वटा हिमालहरू स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुला गरेको भए पनि विश्वकै अग्लो हिम चुचुरो चोमोलुङमा अर्थात् सगरमाथा, माउन्ट एभरेस्ट, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौँ अग्लो मकालु, छैटौँ अग्लो चो–ओयु, सातौँ अग्लो धौलागिरी, आठौँ अग्लो मनास्लु, १०औँ अग्लो अन्नपूर्ण प्रथमजस्ता ठूला हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण रहेको देखिन्छ । त्यस्तै सात हजार मिटर र त्योभन्दा कम उचाइ भए पनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किराँत चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौगुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनिको चुली, धाम्पुस (थापा) पिक, नीलगिरी, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरै जसो विदेशी पर्वतारोहीहरू नेपाल आउने गरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ वटा स–साना हिमाल ‘ट्रेकिङ पिक’ भनी सरकारले अलग्गै खुल्ला गरेको छ । ती ट्रेकिङ पिकको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा लामो समयदेखि नेपाल पर्वतारोहण संघ (एनएमए)ले पाएको छ ।
खासमा हालसम्म विश्वमा आधिकारिक ढंगले मान्यता प्राप्त गरेको आठ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् । हुन त लगभग चार वर्षदेखि नै आठ हजार मिटरभन्दा माथिका अरु छवटा हिमाल थप हुने कुरो भइरहेको छ । थप हुने छवटै नयाँ हिमाल नेपालमै रहेका छन् ।