लुम्बिनी । लुम्बिनी प्रदेशमा पछिल्लो तथ्याङ्कअनुसार १२ जिल्लाका एक सय आठ स्थानका वनमा डढेको लागेको छ । चुरे क्षेत्रका वनमा अहिले डढेलोको धुवाँ र मुस्लो देखिन्छ । डढेलोले चुरे मात्र होइन, सामुदायिक वन सरकार संरक्षित राष्ट्रिय निकुञ्जमा समेत प्रभाव परेको छ ।
रुपन्देही सैनामैना–१ का दिलबहादुर थापा डढ्लोका कारण घरमा पालेका पशु चौपायालाई जङ्गबाट घाँस काटेर ल्याउने अवस्था नरहेको बताउँछन् । घर माथिको चुरे जङ्गलमा डढेलो लागेको झन्डै तीन हप्ता भयो । डढेलो निभाउन कसैले पनि चासो नदिएको उनको गुनासो छ ।
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका अधिकृत एवं वन डढेलो नियन्त्रण एकाइका सदस्य केशर खड्काका अनुसार लुम्बिनी प्रदेशका सबै जिल्लाका वनजङ्गलमा डढेलो देखिएको छ । दाङका जङ्गलमा सबैभन्दा बढी २७ स्थानमा डढेलो लागिरहेको छ । पश्चिम नवलपरासी र कपिलवस्तुमा २४, पाल्पामा १९, गुल्मीमा आठ, रुकुम पूर्वका छ जङ्गलमा डढेलो सल्किएको छ । तर यो तथ्याङ्कभन्दा बढी जङ्गल क्षेत्रमा डढेलोले वन क्षेत्र सखाप पारेको छ ।
लुम्बिनीका रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया डढेलोको उच्च जोखिममा रहेका छन् । यसै प्रदेशका पहाडी जिल्ला अर्घाखाँची र प्यूठानका अधिकांश भू–भाग तथा पाल्पा, गुल्मी र रोल्पाका केही भू–भागसमेत उच्च जोखिममा पर्दछन् ।
लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७८/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि निर्माण गरेर वन डढेलो नियन्त्रणका अभियान सञ्चालनका लागि विभिन्न कार्यक्रम समावेश गरिएको छ । कार्यविधिमा वन डढेलो नियन्त्रणका लागि जोनिङ्ग, सञ्जाल निर्माण, अन्तरक्रिया तथा परिचालन, स्थायी अग्नि रेखा निर्माण, सरसफाइ तथा मर्मत र डढेलो नियन्त्रणसम्बन्धी जोखिम क्षेत्र केन्द्रित स्कुल शिक्षा कार्यक्रममा जोड दिइएको छ ।
प्रदेश सरकारले गत वर्ष डढेलो नियन्त्रण, रोकथाम तथा सचेतनाका लागि विभिन्न ठाउँमा सप्ताहव्यापी कार्यक्रमहरुसमेत सम्पन्न गरेको छ । यस वर्ष पनि विगतमा जस्तै सचेतनाका कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश वन तथा वातावरण मन्त्रालयका वन डढेलो नियन्त्रण युनिटका सदस्य खड्का यस क्षेत्रमा प्राकृतिकभन्दा मानवीय कारणले वन जङ्गलमा डढेलो लाग्ने गरेकाले सरकारले डढेलो नियन्त्रणका लागि समुदायमा सचेतनालाई नै अभियानका रुपमा सञ्चालन गरेको बताउँछन् ।
लुम्बिनी प्रदेशमा करिब नौ लाख हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ । यसमध्ये प्रदेशमा चार हजार ४६ वटा सामुदायिक वनको ३८२।८२ हजार हेक्टर क्षेत्रफल रहेको छ । यस वर्षको डढेलोले प्रदेशमा सबैभन्दा बढी दाङ जिल्ला प्रभावित भएको छ । पछिल्लो एक साताको तथ्याङ्कअनुसार दाङ क्षेत्रमा १८ स्थानको तीन सय ३३ हेक्टर र देउखुरी क्षेत्रका २५ बढी स्थानका एक हजार एक सय बढी हेक्टर वन डढेलोले नोक्सान पु-याएको छ ।
अहिलेको डढेलोले झन्डै ८० प्रतिशत जङ्गल नोक्सान गरिसकेको र अहिलेसम्म नियन्त्रणमा आउन नसकेको अध्यक्ष शर्मा बताउँछन् । “हामीले समुदायकै पहलमा विगत चार÷पाँच वर्षदेखि शून्य ढडेलोको अवस्थामा सामुदायिक वनलाई जोगाइराखेका थियौँ, यसपटक लामो समयको खडेरी र चुरो क्षेत्रको राष्ट्रिय वनको डढेलोबाट हाम्रो वन क्षेत्रलाई डढेलोले समात्यो”, उनले भने, “पहिले पहिले समुदायका सदस्य आफैं डढेलो निभाउन सक्रिय हुन्थे अब त खाजाखर्च खोज्ने गर्छन् हामीले पु-याउन सक्दैनौँ ।”
प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे डढेलो नियन्त्रणको प्रमुख उपाय समुदायलाई सचेत बनाउनु उत्तम बताउँछन् । उनले प्रदेश सरकारले डढेलो नियन्त्रणका लागि सचेतनासँगै अग्नि नियन्त्रण उपकरण डिभिजन वन कार्यालय र सामुदायिक वनलाई उपलब्ध गराउने नीति रहेको समेत जानकारी गराए ।
सचिव घिमिरेका अनुसार वन मन्त्रालयमा पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार प्रदेशमा हालसम्म १५ हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले नोक्सान पु¥याएको बताउँछन् । उनका अनुसार अर्घाखाँचीमा डढेलोका कारण काठसमेत जलेर नष्ट भएको छ ।
वन जङ्गलमा डढेलोसँगै यसले वातावरणमा प्रत्यक्ष असर पारेको छ । वातावरण प्रदूषणबाट मानव स्वास्थ्यमा असर परेको छ । यस खालेको प्रदूषणका कारण खासगरी बालबालिका र वृद्धवृद्धामा फोक्सोमा असर पर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ फिजिसियन डा. सुदर्शन थापाले बताए ।