काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाइ सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रर्द्धनका लागि साझेदारिताको बारेमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाइ उडान र पर्यटनका विषयमा छलफल भएको हो ।
नेपाल र अष्ट्रेलियाबीच हवाइ सम्पर्क सञ्जाल विस्तारका लागि यसअघि नै प्रक्रिया अघि बढिसकेको छ । यसका लागि मन्त्रालयमा कार्ययोजना समेत पेस भइसकेको छ । अष्ट्रेलियामा सिधा उडानका लागि नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्रक्रिया अघि बढाइएको जानकारी दिए । सरकारले वायुसेवा निगमलाई अष्ट्रेलिया उडानका लागि आधिकारिक एयरलाइन्स तोकेको छ । सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच द्विपक्षीय हवाइ सेवा सम्झौता भएको थियो । नेपालले हालसम्म ४० मुलुकसँग द्विपक्षीय हवाइ सेवा सम्झौता गरिसकेको छ ।
यस्तै पर्यटनमन्त्री किराँतीले ‘इन्टर्नसिप’का लागि फ्रान्स गएका विद्यार्थीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्दै फ्रान्समा नेपालको राम्रो सम्भयता छाडेर आउन आग्रह गरेका छन् । ‘अब पर्यटन विश्वविद्यालय चाँडै खोलिँदैछ तपाईंहरुको आवश्यकता त्यहाँ पनि पर्छ राम्रो अध्ययन गरेर आउनुहोला । तपाईँहरुले एक वर्ष त्यहाँ सिक्न मात्रै जाँदै हुनुहुन्न यो देशको राम्रो सभ्यता समेत छाडेर आउनुहुनेमा विश्वास छ’, उनले भने । होटल व्यवस्थापन विषय अध्यानरत २४ विद्यार्थीलाई पर्यटनमन्त्रीले बिदाइ गरेका हुन् ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का विद्यार्थीहरुले फ्रान्सको सेभोलेमा रहेको एब सय वर्ष पुरानो विश्वाविद्यालयमा एक वर्ष इन्टर्नसिप गर्नेछन् । साथै फ्रान्सबाट नाथममा इन्टर्नसिप गर्नका लागि शुक्रबार विद्यार्थीहरु नेपाल आउने कार्यक्रम रहेको नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले जानकारी दिए ।