जनकपुर । आइतबार जनकपुरमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी आयोगको कार्यालयको उद्घाटन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनकपुर पुगेका छन् । उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिन सरकारले सङ्कल्प गरेको बताएका छन् ।
आयोगको कार्यालयलाई सामान्य रूपमा नलिन सबैलाई आग्रह गर्दै मिटर ब्याज सम्बन्धी थप अनुसन्धान र छानबिन हुने उनले बताएका छन् । उनले मिटर ब्याज सामन्तवादी शोषणको नमुना रहेकाले जरैदेखि उखेलेर फाल्ने पनि बताए ।
मिटरब्याजलाई सामान्य ठगीको सन्दर्भलाई अगाडि सारेर न्याय दिन सकिने भए पनि ठोस् समाधान नहुने भएकाले अनुचित लेनदेन र मिटरब्याजको समस्या समाधानका लागि ठोस कानुन बनाउन कानुन संशोधनका लागि मन्त्रिपरिषद् अगाडि बढिसकेको उनले बताए ।
उनले हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयोजकत्वमा एक समिति बनाएर आयोग सँगको समन्वयमा समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।