काठमाडौं ,राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्। आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए । उनले भने, “पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ । सरकारसम्बन्धी छलफल चाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ । त्यस्तै आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ । बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ । यसैगरी कविन्द्र बुर्लाकोटीलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ । त्यसैगरी शिशिर खनाललाई अन्तर्राष्ट्रिय विभाग, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, शिक्षा विभाग सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभाग डा तोसिमा कार्की, कृषि तथा सहकारी विभाग अशोक चौधरी र सार्वजनिक लेखा समिति विभागको प्रमुखमा मनिष झालाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।