काठमाडौं । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन् ।
यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा बोल्दै उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताए । उनले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिए ।
“अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन”, उनले भने, “सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कामय गर्ने काम सूचनाको हकले गर्छ ।”
सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र यसले जनस्तरमा सरकारले गरेका कामकारबाही जस्ताको तस्तै जाने बताइन् । उनले सूचनाको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र नागरिकले सहजरूपमा सूचना पाउने बताइन् ।
मन्त्री शर्माले नेपाली नागरिकको सूचनाको हक प्रचलन गर्नका लागि सरकारले आयोगको गठन गरेको स्मरणसमेत गराइन् । उनले लोकतन्त्रको प्रभावकारी संयन्त्र सूचना आयोग भएको र यसले समग्र देशको उन्नति र समृद्धिमा काम गर्ने बताइन ।
आयोगका अध्यक्ष महेन्द्रमान गुरूङले जनआन्दोलनपछिको उपलब्धि सूचनाको हकसम्बन्धी अवधारणा आएको र कानुन कार्यान्वयन प्रभावकारी भएमा राज्यका काम कारबाहीमा पारदर्शी र सुशासन कायम हुने बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सार्वजनिक निकायबाट सूचना प्रवाह अझै प्रभावकारी हुन नसकेको हुँदा अभियानकै रूपमा अगाडि बढाउनुपर्ने बताए ।