काठमाडौं । सरकारले फेरि ३० अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्रीमार्फत सो रकम जुटाउन लागिएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिनेछ । कुल ३० अर्ब १८ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुने भए पनि १८ अर्ब १८ करोड रुपैयाँबराबरको ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गत रहेको र १२ अर्ब रुपैयाँबराबरको नयाँ बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल वैशाख २६ गते मंगलबारदेखि जारी हुने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्नेछन् ।
बिक्री गरिने उक्त ट्रेजरी बिलहरुमा क्रमशः २८ दिन अवधिको तीन अर्ब, ९१ दिन अवधिको १२ अर्ब १० करोड, एक सय ८२ दिन अवधिको नौ अर्ब र तीन सय ६४ दिन अवधिको छ अर्ब आठ करोड रुपैयाँ छ । जसमध्ये ९१ दिन अवधिको कुल १२ अर्ब १० करोड रुपैयाँमध्ये सात अर्ब १० करोड पुरानो नवीकरणअन्तर्गत र बाँकी पाँच अर्ब नयाँ रहेको छ भने एक सय ८२ दिन अवधिको कुल नौ अर्बमध्ये छ अर्ब पुरानो नवीकरणअन्तर्गत र बाँकी तीन अर्ब नयाँ छ । यसैगरी तीन सय ६४ दिन अवधिको कुल छ अर्ब आठ करोड रुपैयाँमध्ये दुई अर्ब आठ करोड पुरानो नवीकरण अन्तर्गत र बाँकी चार अर्ब नयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी बिल २०८० जेठ २३ गते परिपक्व हुनेछ । यस्तै ९१ दिन अवधिको २०८० साउन २३ गते, एक सय ८२ दिन अवधिको २०८० कात्तिक २१ गते र तीन सय ६४ दिन अवधिको २०८१ जेठ २५ गते परिपक्व हुनेछ । गत साता पनि राष्ट्र बैंकले कुल २७ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो ।