काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ करोड रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले अवकाश कोषअन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको नाममा सूचना जारी गर्दै उक्त रकम लगानीको लागि प्रस्ताव आह्वान गरेको हो । राष्ट्र बैंकले तीन सय ६६ दिन अर्थात् २०८० जेठ ३ गतेदेखि २०८१ जेठ ३ गतेसम्मका लागि निक्षेप राख्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार यसरी लगानी गरिने रकममध्येमा वाणिज्य बैंकहरूका लागि लागि १८ करोड ४० लाख, विकास बैंकहरूको लागि तीन करोड ४५ लाख र फाइनान्स कम्पनीहरूको लागि एक करोड १५ लाख छुट्याएकोे छ । रकम लगानीको लागि बैंकहरूले वैशाख २७ गतेसम्म लिन चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव गर्नुपर्नेछ ।
रकम लिन प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ । यस्तै तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएको छ ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा व्यवस्थापछिको कायम रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको र घरजग्गा कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।