काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंकको सञ्चालकको शपथ लिएका छन् । सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पोखरेलले केन्द्रीय बैंक सञ्चालकको शपथ लिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्थाबमोजिम पोखरेलले शपथग्रहण गरेका हुन् । शपथग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रार नारायणप्रसाद पन्थी, सहरजिष्ट्रार नारायणप्रसाद
रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।