सोलुखुम्बु,चैत २७ लकडाउनका कारण तरकारी बारीमै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस जोखिमका कारण अहिले देश लकडाउनमा रहेको छ । जसले गर्दा किसानले उत्पादन गरेको तरकारी बारीमै सुकेको हो । अहिले लकडाउन लम्बिदै गएको छ । आपूmहरूले उत्पादन गरेको तरकारी बारीमै सुकेको सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माका कृषक ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार बजारका लागि उत्पादन गरिएको साग, धनियाँ, टमाटर, हरियो प्याजलगायतका तरकारीहरू बजार बन्द हुँदा बारीमै सुकेर खेर जान थालेका हुन् । लकडाउनका कारण सबैतिर बजार पसल बन्द रहेका छन । सवारी साधनहरू चल्न नसक्दा उत्पादित तरकारीहरू बजारमा पु¥याउन नसकेको नगरपालिका वडा नम्बर ११ तिङलाका कृषक धनबहादुर बस्नेतको भनाइ छ । बोकेरै भए पनि बजारसम्म पु¥याउनका लागि आपूmहरू तयार रहेको भए पनि बजार नलागेकाले थप समस्या भएको उनले बताए । तरकारीलाई नै आम्दानिको मुख्य स्रोत बनाएका किसान अहिले बजार बन्द हुँदा समस्या उत्पन्न भएको बताउने गरेका छन् । नगरपालिका तथा अन्य स्थानबाट समेत सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाटमा बिक्रीका लागि तरकारी तथा अन्य उपभोग्य वस्तुहरू ल्याउने गरिन्छ । अहिले सो साप्ताहिक हाट ३ हप्तादेखि बन्द रहेको छ । जसका कारण किसानले उत्पादन गरेको कृषि उपज बारीमा नै नष्ट हुने अवस्था सृजना भएको छ । किसानले उत्पादन गरेको तरकारीले बजार नपाइरहेको समयमा सदरमुका सल्लेरीमा बसोबास गर्नेहरूले भने हरियो तरकारी खान नपाएको गुनासो गरिरहेका छन । बजार नलागेकाले अरियो तरकारी पाउन छाडेको सल्लेरीका स्थानीयले बताएका छन् । कोही कसैले आफ्नै घरमा लगाएर खाने गरेकको भए पनि सरकारी कार्यालयका कर्मचारीको भान्सामा भने हरियो तरकारी पाक्न छाडेको छ । आलुमा रातो मिलाको प्रक्रोप सोलुखुम्बुको तिङलाका कृषकहरूले उत्पादन गरेको आलुमा रातो कमिलाको प्रकोप देखिएको छ । सोलु दुधकुण्ड नगरपालिका ११ तिङ्ला क्षेत्रका सानहरूले उत्पादन गरेका हिउँदे आलुमा रातो कमिलाको प्रकोप देखापरेको किसानहरूको भनाइ छ । रातो कमिलाले आलुको भित्री भागमा प्रवेश गरी भित्रभित्रै खोक्रो पार्ने गरेको स्थानीय कृषक मुना राईको बताइन् । आम्दानी होला कि भनेर लगाइएको आलु कमिलाले सखाप पारेपछि चिन्ता बढेको राईको भनाइ छ । आयआर्जनमा केही सुधार हुने विश्वासका साथ लगाएको आलुमा कमिलाले सखाप पार्दा थप चिन्ता बढेको अर्का कृषक मकरबहादुर राईले गुनासो गरे । आपूmहरूले घरकै लागि मात्र केही मात्रमा आलु लगाएको भए पनि बारीमै किराले खोक्रो बनाउँदा गाउँले निराश बन्दै गएको अर्का कृषक शौमाया सार्कीले बताइन् । तिङ्लाको बासीगाउँ, देउराली, ढोरेनी, खाल्पालगायतको क्षेत्रमा हिउँदे आलु उत्पादन हुने गरेको छ । तर, कमिलाले सखाप बनाएपछि किसानको चिन्ता बढेको छ । अहिलेको लकडाउनका कारण कुनै पनि प्राविधिकसमेत नआउने भएकाले पनि किसानहरू थप मर्कामा परेका छन् ।