काठमाडौं,नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधन एसेम्बलिङ उद्योगहरूलाई दिइँदै आएको सुविधा तथा छुट कटौती नगर्न सरकारसँग आग्रह गरेको छ । नाडाले सरकारले बजेटमार्फत सवारीसाधन एसेम्बलिङ गर्ने उद्योगलाई दिइँदै आएको महसुलमा छुटलगायत नीतिगत सुविधाहरूलाई कटौटी गर्न लागेको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नाडाले मंगलबार एक विज्ञप्ति जारी गरी नीतिगत प्रोत्साहनका प्याकेजहरू ल्याउँदै जानुपर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरूलाई समेत पटकपटक हेरफेर गर्दै जाने हो भने नेपालमा नयाँ उद्योग नखुल्ने र भएका पनि बन्द हुने चेतावनी दिएको छ । नाडाले बजेटबाट सवारी साधन एसेम्बल गर्ने उद्योगलाई थप प्रोत्साहन दिनुपर्ने बताएको छ ।
नेपालमा अहिले दुईपाङ्गे्र सवारीसाधनहरूको चारवटा एसेम्बल उद्योग सञ्चालनमा छन् । थप अरू दुई उद्योगहरू तत्कालै उत्पादन गर्ने अवस्थामा रहेको र अन्य केही एसेम्बल उद्योगहरू खुल्ने तयारीमा रहेको नाडाले जनाएको छ ।नाडाले नेपालमा चारपाङ्गे्र सवारीसाधनहरू उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरू पनि खुल्ने क्रममा रहेको जनाएको छ ।
नेपालमा नै सवारीसाधनहरूको एसेम्बल हुँदा सर्वसाधारणले सस्तो मूल्यमा सवारीसाधनहरू प्राप्त गर्ने, रोजगारी सिर्जना हुने र प्रविधि भित्र्याएर नेपाली प्राविधिकको क्षमता विकासमा सहयोग पुग्ने दाबी नाडाको छ । एसेम्बलिङ उद्योगहरूले औद्योगीकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याएको दाबी पनि नाडाले गरेको छ ।