काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताएका छन् । कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन भनेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।
गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै बिहीबार बिहान गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव बाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । कुनै दबाव परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर आफूले प्रहरीलाई भनेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, र हुँदैन ।’
प्रहरीले बयानलाई तथ्य प्रमाणसँग जोडेर हेरेको भन्दै उनले भने, ‘थुप्रै व्यक्तित्वको नाम आएको छ, तर एउटा बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरुको खोजी गर्ने प्रक्रियामा प्रहरी लागेको हो भन्ने हामीले बुझ्नुपर्छ ।’ उनले भने ।