काठमाडौं । घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई रु. ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो । आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न उनीहरुले घुस मागेका थिए ।
आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै शुक्रबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।