विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा सचिवालय भवन अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले बताएको छ ।
प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आइतबार बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेका थिए । आइतबारबाट प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदैछ ।
प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पार्नका लागि प्रदेश सभातर्फ जाने चारैतिरको सडकमा खटिएको प्रहरीले बाटोमा हिड्नेहरुलाई पनि फर्काइरहेको छ ।