चितवन । वन्यजन्तुसम्बन्धी कसुरमा चितवन राष्ट्रिय निकुञ्जले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् ।
चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
दुई थान भरुवा बन्दुकसमेत प्रजाको घरबाट बरामद गरिएको तिवारीले जानकारी दिए । हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ । वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान थालेको छ ।