काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता भएको छ । तत्कालीन माओवादीले आफू जस्ता अबोध नाबालकलाई बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै सशस्त्र युद्धका बालसेना लेनिन विष्टले प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
यसअघि सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै विष्टको रिट दरपीठ गरिदिएको थियो । विष्टले दिएको दरपीठविरुद्ध निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ । ३० जेठमा उक्त रिटमाथि सुनुवाइको मिति तोकिएको छ ।
आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न आदेश दिनुपर्ने रिट निवेदकको माग छ । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ ।