काठमाडौं,नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले सत्ताको प्रमुख घटक नेपाली कांग्रेससँग उच्चस्तरीय राजनीतिक बार्गेनिङ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीभित्रका विभिन्न समूहको भूमिकाले पनि माओवादीले कांग्रेससँग उच्चस्तरीय बार्गेनिङ गरेको संकेत गर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउदेखि अनुसन्धानको क्रममा प्रहरीले सार्वजनिक गरेका विवरणले प्रहरीभित्रै विवाद बढाउने काम गरेको थियो ।
स्रोतका अनुसार प्रहरीकै आफन्त पनि अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर जेलमा छन् । उनीमार्फत कांग्रेसका नेताहरूलाई पक्राउ गर्ने वातावरण प्रहरीले नै माओवादी नेताहरूलाई बनाइदिएको स्रोतको दाबी छ ।उच्च स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेको एउटा छोटो अडियोमा उनले आफूले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई रकम दिएको बयान रेकर्ड गरिएको छ । उनै पाण्डे नेपाल प्रहरीका एक अधिकारीका आफन्त हुन् भने तिनै प्रहरी अधिकारीको आफन्त प्रधानमन्त्री प्रचण्डको सचिवालयमा पनि कार्यरत रहेको उच्च स्रोतको दाबी छ । पाण्डेलाई भगाउन प्रहरीभित्रकै एउटा समूह लागेको थियो भने पक्राउ गर्न अर्को समूह लागेको थियो । जुन कुरा विभिन्न सञ्चार माध्यममा आएका थिए ।
अहिले वर्तमान गठबन्धन भत्काएर नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने भनेर केही छलफल, बहस मात्र होइन कांग्रेसका केही नेताहरूले त्यो सम्भावना नभएको होइन भनेर अन्तर्वार्ता नै दिइरहेका छन् । विभिन्न घटनाले कांग्रेस र माओवादीबीच दूरी बढिरहेको बेला माओवादी नेताहरूले कांग्रेस नेताहरूलाई अहिलेको गठबन्धन भत्काएर एमालेसँग मिलेमा भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेर राजनीतिक चरित्रहत्या गरिदिने धम्की घुमाउरो तरिकाले दिएका छन् । त्यसले राजनीतिलाई तरङ्गित पारिदिएको छ । प्रहरीले नै भुटानी शरणार्थी प्रकरणमा डा. आरजु, मञ्जु खाँड, राजेश बज्राचार्यलगायतका नाम विभिन्न माध्यमबाट सार्वजनिक गरिदिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेताहरू कृष्ण प्रसाद सिटौला र डा. आरजु राणा देउवालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको समाचार सोमबारको आर्थिक दैनिकमा प्रकाशित भएपछि गृह मन्त्रालयका प्रवक्ता÷सहसचिव केदारनाथ शर्माले सोमबार गृह मन्त्रालयको लेटरमार्फत समाचारको खण्डनमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दबाबरहित ढंगले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायहरूलाई निर्देशन दिएको तथा निर्देशन दिने क्रममा गृहमन्त्री श्रेष्ठबाट कुनै व्यक्ति लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन नदिएको भन्दै निर्देशन दिएको भन्ने कुरा भ्रामक, कपोलकल्पित र झुटा भएको दाबी गरिएको छ ।
गृह मन्त्रालय, डा. आरजु राणा देउवा र कृष्ण प्रसाद सिटौलाले सोमबार आर्थिक दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै विज्ञप्ति प्रकाशित गरे पनि गृहमन्त्री श्रेष्ठले पक्राउ गर्न निर्देशन दिएको कुरा सत्य भएको नेपाल प्रहरीकै अधिकारीहरू बताउँछन् । उक्त समाचार सत्य हो वा होइन भन्ने विषयमा डा. आरजु र नेता सिटौलाले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग स्पष्टीकरण माग्नुपर्नेमा उनीहरूले आर्थिक दैनिकको समाचारप्रति आपत्ति जनाएका छन् । यद्यपि गृहमन्त्री श्रेष्ठले डा. आरजु र नेता सिटौलालाई पक्राउ गरेर प्रमाण पछि खोज्न प्रहरीलाई मौखिक निर्देशन दिएको स्रोतको भनाइप्रति आर्थिक दैनिक अडिग छ । गृहमन्त्रीले दिएको निर्देशन कसले दियो भनेर व्यक्तिको नाम उल्लेख गर्न आर्थिक दैनिक बाध्य छैन । स्रोतको सुरक्षाप्रति संवेदनशील हुँदै सत्य समाचारलाई आर्थिक दैनिकले प्रकाशन गरेको हो ।
‘अहिले प्रचण्ड नेतृत्वको सरकारप्रति कांग्रेसभित्र असन्तुष्टि छ । कांग्रेसले जुन दिन गठबन्धन तोड्ने निर्णय गर्छ त्यो दिन माओवादी नेतृत्वको सरकारले कांग्रेसका नेताहरूको राजनीतिक चरित्र हत्या गरिदिने उद्देश्यले केही नेताहरूलाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरिदिने सम्भावना छ’, उच्च स्रोत भन्छ, ‘जुन दिन गठबन्धन तोड्छौँ त्यो दिन पक्राउ गर्छौँ भन्ने धम्की माओवादी नेताहरूले कांग्रेसलाई दिनेगरेका छन् । त्यही धम्कीअन्तर्गत गत शुक्रबार गृहमन्त्री श्रेष्ठले प्रहरीलाई डा. आरजु र नेता सिटौलालाई पक्राउ गर्न निर्देशन दिएका हुन् । पर्याप्त प्रमाणविना अहिले प्रहरीले पक्राउ गर्न आँट नगर्ने भएको अनुमान गर्दै श्रेष्ठले उक्त निर्देशन दिएका हुन् ।’ सार्वजनिक भएको गृहमन्त्री श्रेष्ठको उक्त निर्देशनले सत्ता गठबन्धनमा दरार उत्पन्न हुनासाथ उनीहरूलाई पक्राउ गर्ने वातावरण मिलेको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्डले यो गठबन्धन पाँच वर्ष टिक्ने र कसैले चाहँदैमा सजिलै टुट्न नसक्ने बताउँदै गर्दा कांग्रेसलाई भुटानी शरणार्थीको पासोमा पारेर गठबन्धन अगाडि बढेको देखिन्छ ।
गृहमन्त्री श्रेष्ठको तर्फबाट गृहप्रवक्ता शर्माले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा समाचारमा उल्लेख भएअनुसार एआईजीलाई गृहमन्त्रीले शुक्रबार भेट नगरेको भनेर कतै उल्लेख छैन । जनयुद्ध नलडे पनि माओवादीभित्र श्रेष्ठ दोस्रो तहका नेता हुन् । उनी भ्रष्टाचारविरुद्ध खरो उत्रने नेता रहेको माओवादी नेताहरू नै बताउँछन् । राजनीतिक दबाबमा मात्र उनको तर्फबाट उक्त विज्ञप्ति आएको स्रोतको दाबी छ । भ्रष्टाचारमा संलग्न भएको वा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनेहरूको पक्षमा गृहमन्त्री श्रेष्ठ छैनन् । जतिसुकै ठूलो नेता भए पनि दोषअनुसार कारबाही भोग्नुपर्छ भन्ने पक्षमा उनी छन् । अहिलेको गठबन्धन बनाउन पूर्वगृहमन्त्री सिटौलाले भूमिका खेले पनि उनीनिकट केही व्यक्ति नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका र केही नेपाली भुटानीको नाममा अमेरिकालगायतका देशहरूमा पहिल्यै गएका छन् । उनीहरूको कनेक्सन सिटौलासम्म देखिएका कारण सत्ता गठबन्धन नै धरापमा परे पनि अनुसन्धान गर्नुपर्ने पक्षमा गृहमन्त्री श्रेष्ठ रहेको स्रोतको दाबी छ ।
यो पनि पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन