काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले फेरि अनुसन्धान सुरु गरेको छ । महान्यायाधीवक्ताको हस्तक्षेपका कारण डेढ वर्षअघि रोकिएको अनुसन्धान प्रहरीले अघि बढाउन थालेको हो । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानका सिलसिलामा उनी पक्राउ परेको सीआईबी श्रोतले जानकारी दिएको छ । गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन् ।
केसी डिल्लीबजार मालपोतमा बसेर पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञसमेत भएका थिए । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन् । गौतम र कपाली पनि कर्मचारी हुन् । स्रोतका अनुसार, त्यो घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी गरिरहेको छ ।
अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातदेखि अरु दुई पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारी मुछिएका छन् । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलेको छ ।