काठमाडौं । १५ दिन लामो विदेश यात्राबाट फर्किएलगत्तै भोलिपल्ट प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए । तर विषयचाहिँ यो भ्रमणसँंग सम्बन्धित थिएन । दुई महिनाअघि पक्राउ परेको साठी केजी सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको थियो । असान्दर्भिक कुरामा समय व्यतित गर्न खोजेको भन्दै कतिपय दलहरूले नै यो बैठक बहिष्कार गरे । प्रधानमन्त्री स्वदेश फर्किएको दिन मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाइ इन्धनको भाउ एक्कासी बढाएको थियो । त्यसबारे भने प्रधानमन्त्री वा सरकार बेखबर रहेको भन्दै केही दलहरूले बैठक बहिस्कार गरेका थिए । तर सो बैठकअघि नै मन्त्रिपरिषद्ले शनिबार बढेको पेट्रोलियम पदार्थको मूल्य कार्यान्वयन नगरी पुरानै मूल्य कायम राख्न निर्देशन दिने निर्णय गरेको छ । बहिष्कारकर्ताहरूले चाडपर्वको मुखमा आम उपभोक्तालाई मार पर्नेगरी सरकारले गरेको मुल्यवृद्धिप्रति गम्भीर आपत्ति जनाउँदै यसको विरोधस्वरूप प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको बताएका थिए । तर उनीहरूले बहिस्कारको निर्णय गर्नुअघि नै सरकारले मूल्य घटाउने निर्णय गरिसकेको छ ।
उल्लेखित वस्तुको मूल्य बढेको दिन नै देशमा विधिवत्रूपमा चाडपर्वको सुरुवात भएको थियो । यो मूल्यवृद्धि पनि कस्तो भने जुनवस्तुले जनताको चुलो बल्छ त्यही इन्धनचाहिँ सर्वाधिक महँगो बनेको थियो । अघिल्लो दिन बेलुका देशले धेरै ठूलाठूला उपलब्धि हासिल गरेको भनी प्रधानमन्त्रीबाट दिइएको लामो व्याख्या सुनेर सुतेका उपभोक्ताले खासगरी आफ्नो घरको चुलो बाल्ने ग्यासको एक सिलिण्डरमा नै दुई सयभन्दा बढी हुने गरी मूल्य बढेको सूचना पाए । यस्तोबेला उनीहरूलाई सुन तस्करी छानबिनको विषयभन्दा ठूलो यो मूल्यवृद्धि हो भन्ने पर्ने नै भयो । यो मूल्यवृद्धि पनि कस्तो भने सरकार आफैँले लुटेजस्तो । निगम आफैँ सरकारी निकाय हो । यो दिनको मूल्यवृद्धिले मात्रै उसको नाफा अङ्क भने अर्बमा नै हिसाब हुने गरी बढाउँथ्यो । त्यसमा सरकारी कर पनि पर्ने नै भयो । निगमकै विज्ञप्तिअनुसार पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजेल तथा मट्टितेल लिटरमा छ रूपैयाँ बढेको अवस्थामा खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ थपिएको थियो । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा आठ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रतिलिटर करिब आठ रूपैयाँ) बढेको थियो । यसको अर्थ यदि मूल्यवृद्धि फिर्ता नलिएको भए यो चाडवाडका बेला स्थल र हवाई यातायात पनि महँगिने थिए ।
नेपालमा उल्लेखित दरले इन्धनको मूल्य बढाउनुको कारण भनी भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची देखाइएको छ । त्यो सूचीअनुसार अर्थात् निगम आफैँले भनेअनुसार भारतीय निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ ३४ पैसा, डिजेलमा चार रूपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रूपैयाँ ४५ पैसा र हवाई इन्धनमा प्रतिलिटर छ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्यसूची पठाएको छ । यदि यसलाई आधार मान्ने हो भने के नेपाली बजारमा पनि यही रूपले मूल्य बढ्नुपर्ने हो । तर दोब्बरका दरले मूल्य बढाइएको थियो । जस्तो ग्यासमा एक सय ७३ रूपैयाँ ४५ पैसाका दरले बढ्दा नेपाली बजारमा अर्थात् नेपाली उपभोक्ताले दुई सय १५ रूपैयाँ तिर्नुपर्ने भयो ।
सरकारले नेपाली जनतामाथि गरेको अन्याय वा मच्चाएको लूट यही हो । छिमेकी देश भारतमा नै यी वस्तुको अन्तर्राष्ट्रिय मूल्य बढेको खण्डमा जनतालाई मर्का पर्ने ठानेर सहुलियत दिने गरिएको पाइन्छ । तर यता नेपालमा भने करमाथि कर लगाइने गरिएको छ । माथि उल्लेख भएको हाल निर्धारित मूल्य परलभन्दा दोब्बर बढ्नुको कारण यही हो । अब भने सरकारले यस्तो लूटको अन्त्य गर्नैपर्छ । त्यसो भएन भने नागरिक नै प्रतिकारमा आउन सक्छन् । अहिले तत्कालका लागि यी सबै भवितव्य हुन नदिनका लागि पनि सरकारले तत्कालको लागि ग्यासको मूल्य घटाएको छ ।