काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले हालै सम्पन्न उपनिर्वाचनमा सबैभन्दा बढी नोक्सानी व्यहोर्नेमा नाम लेखाएको छ । यो उपनिर्वाचनमा यो दलले २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त गरेकामध्येबाट आठ ठाउँ गुमाइयो । ४४ वटा तह अर्थात् पदमा भएको चुनावमा आठ ठाउँ गुमाएको अवस्था सानो होइन । यद्यपि दुईवटा पद निर्विरोध पनि भएको छ र यति ठाउँ गुमाउँदा पनि यसको पहिलो हैसियत भने कायमै छ । दलीय हिसाबले हेर्दा त्यस्तो हैसियत कायम रहनु पनि एक प्रकारले उपलब्धि नै हो । पहिलो चुनावमा दोस्रो ठाउँमा रहेको एमालेले आफ्नो त्यस्तो दोस्रो हैसियत जोगाउन सकेन । ठाउँका हिसाबले त त्यस्तो हैसियत कायम रहेको होला । तर यो उपनिर्वाचनमा तीन ठूला दलमध्ये ऊ तेस्रोमा झरेको छ र पहिलोका तेस्रो दलले या उपनिर्वाचनमा दोस्रो ठाउँ लिएको छ । एमाले त्यस्तो पार्टी हो, जसले आउँदो राष्ट्रिय चुनावमा देशको सबैभन्दा ठूलो शक्ति बनेर प्रकट हुने भनेर मिसन ८४ को घोषणा नै गरेको थियो । केन्द्रीय राजधानी रहेको कीर्तिपुर नगरको मेयरमा यो दलका उम्मेदवारले तेस्रो स्थान ल्याए । माओवादी भने दोस्रो भयो ।
अहिलेको उपनिर्वाचन भएका ४४ तहमध्ये ०७९ को स्थानीय तह निर्वाचनमा यो दलले २७ तहमा जित हासिल गरेको थियो । तीमध्ये अहिले १९ वटा कायम रहेका छन् । यो भनेको करिब चार भागको एकभाग गुम्नु हो । अहिले उपनिर्वाचन भएका ४४ तहमध्ये पहिले काँग्रेस २७, नेकपा एमाले सात, नेकपा माओवादी केन्द्रले आठ, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्रले समान एक तहमा जितेका थिए । काँग्रेसले यो निर्वाचनमा पहिले जितेकामध्ये १५ वटा तह गुमाएको छ । त्यसकारण पनि नेपाली काँग्रेसका लागि यो चुनाव विशेष समीक्षाको विषय बनाइनुपर्छ भन्ने माग भएको हुनुपर्छ । यो दलबाट यो चुनावका लागि दुईजना महामन्त्रीलाई कमान्डर बनाइएको थियो । दुवै युवा पुस्ताका र काबिल मानिन्थे । या चुनाव अघिसम्म उनका परिचय यस्तै प्रकारले गराइन्थ्यो । उनकै नेतृत्वमा भएको यो उपचुनावमा यसअघि जितेका तीन पालिकाका अध्यक्ष र दुई पालिकाका उपाध्यक्ष–उपप्रमुख पद गुमे । यदि यो निर्वाचनलाई एक प्रकारको जनमत मान्ने हो वा आउँदो निर्वाचनका लागि जनमत मान्ने हो भने सो दलका लागि यो निकै ठूलो नोक्सानदायक हुन सक्छ । त्यसै मानिएर पनि काँगे्रसभित्र निर्मम तरिकाले चुनावी समीक्षा हुनुपर्ने माग भएको हुनुपर्छ । निर्वाचन परिचालन गर्ने नेतृत्व पाएकाहरूले पनि आफ्ना बारेमा आफैँ समीक्षा गर्ने बेला पनि हो यो ।
त्यस्तै, मिसन ८४ बोकेर हिँडेको रास्वपा र व्यवस्था परिवर्तन गर्ने भन्दै मत मागेको राप्रपाका लागि यो निर्वाचनले धेरै सन्देश दिएको छ । चौथो शक्ति रास्वपाले २६ ठाउँमा उम्मेदवार दिएकोमा २५ ठाउँमा जमानत जफत भयो । कतिपय ठाउँमा त उम्मेदवारले यो दलको चुनाव चिह्न समेत लिन मानेनन् । तैपनि एकठाउँमा जितेको अवस्थाचाहिँ छ । तर राप्रपाको त त्यति पनि छैन । करिब डेढ लाख मतदाता भएको पालिकामा पालिकामा यो दलका उम्मेदवारले जम्मा नौ सय मत पाए । अहिलेको संसद्मा राप्रपा पाँचौँ शक्ति हो । गणतन्त्र र संघीयताको विरोध गरिहेको यो दलका कतिपय उम्मेदवारले मतको दोहोरो संख्या पनि कटाउन सकेनन् । यो दयनीय अवस्थाको यो दलले पनि मूल्याङ्कन गर्नुृपर्छ । कपियले कम मत खसेका कारण बहुदलीय पद्धतिमै नागरिकले प्रश्न उठाएका भनेर जोगिन खोजिएका पनि देखियो । तर यो बुझाइ पनि गलत नै हो ।
जेहोस् अबका दिन साना ठूला सबै दल र व्यक्तिले यो चुनावको सन्देश बुझनैपर्छ र आफूलाई सच्याउनुपर्ने देखिएमा त्यसका लागि पनि तयार हुनुपर्छ । त्यसो भएन भने क्षतिको आकार योभन्दा झन् बढ्ने छ ।