काठमाडौं । नेपालमा चिनियाँ पर्यटकको नेपाल आगमन संख्या हेर्दाखेरि सन् २०२० मा १९ हजार दुई सय ५७ जना, सन् २०२१ मा छ हजार एक सय ९८ जना र सन् २०२२ मा नौ हजार पाँच सय ९९ जना आएका थिए भने, सन् २०२३ माचाहिँ ६० हजार नाघेका थिए । कोरोना महामारीपछि एक वर्षमै नेपाल आउने चिनियाँ पर्यटकको संख्या अकल्पनीय ढंगले फड्को मारेको थियो ।
जे भए तापनि लेखमा सन् २०२३ को सात महिनामा मासिकरूपमा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको विवरण उल्लेख गरिएको छ । सोअनुसार जनवरी महिनामा एक हजार चार सय ३६, फेब्रुअरी महिनामा दुई हजार दुई सय ६६, मार्च महिनामा दुई हजार छ सय ३५, अप्रिल महिनामा चार हजार सात सय ७०, मे महिनामा चार हजार छ सय ६७, जुन महिनामा चार हजार तीन सय ४३ एवम् जुलाई महिनामा पाँच हजार छ सय ९३ रहेको छ । सन् २०२३ को बाँकी पाँच महिनामा चिनियाँ पर्यटकको नेपाल आगमन दर कस्तो होला त ? अनुमान मात्रै गर्न सकिने कुरो भयो । यसै भन्न सकिने स्थिति छैन । हुन त सन् २०१९ मा मात्रै एक सय ५५ मिलियन चिनियाँहरू पर्यटक भई विश्वका विभिन्न देशमा भ्रमण गर्न निक्लेका थिए । त्यस्तै, नेपालमा पनि सो वर्ष एक लाख ६९ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । ऊ बेलादेखि साधारण अवस्था रहेको भए आजको दिनमा आइपुग्दा नेपालमा चिनियाँ पर्यटकको वार्षिक आगमन संख्या वार्षिक साढे तीन लाख–चार लाखभन्दामाथि पुगेको हुन्थ्यो कि ? सन् २०२३ मा चाहिँ विश्व घुम्न निक्लिने चिनियाँ पर्यटकको संख्या उल्लेख्यरूपमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । यसको पुष्टि विदेश भ्रमणमा जाने चिनियाँ पर्यटक सम्बन्धमा अध्ययन गर्ने एक स्वतन्त्र संस्था ‘चाइनिज आउटबाउन्ड टुरिज्म रिसर्च’ (कोटरी)ले गरेको थियो । कोटरीका अनुसार सन् २०२३ मा एक सय १० मिलियन चिनियाँ पर्यटकहरू विश्वका विभिन्न देशको भ्रमण गर्न निक्लेका थिए ।
यसरी ‘नोभेल कोरोना भाइरस’ले महामारीको रूप लिनुअघि अर्थात् सन् २०१ सम्म चिनियाँ पर्यटकको विश्वभरि नै दबदबा रहेको थियो । खासमा विश्वमा धेरै घुम्न निक्लने पर्यटकको संख्या र विश्वकै धेरै खर्च गर्ने पर्यटक दुवै क्षेत्रमा चिनियाँ पर्यटक एक नम्बरमा रहने गरेका थिए । लगभग तीन वर्षपछि अर्थात् सन् २०२३ सुरु भएलगत्तै फेरि विश्वभरि नै पर्यटनले लय समात्ने आशा गरिएको छ । त्यसमा पनि लभगभ तीन वर्षसम्म कतै पनि घुम्न जान नपाएका चिनियाँ पर्यटकको भ्रमणले विश्वका धेरै देशको अर्थतन्त्रलाई भरथेग गर्ने आशा गरिएको छ । यसको एउटै मात्र कारण भनेको सन् २०२३ को फेब्रुअरीदेखि चीन सरकारले आफ्ना देशका नागरिकलाई दुई चरणमा विश्वका विभिन्न देशमा पर्यटक भई समूहमा घुम्न जान दिने निर्णय गरेको छ । जसलाई ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडीएस) भनेर चिन्ने गरिन्छ । चीन सरकारले त्यसरी दुई चरणमा आफ्ना देशका नागरिकलाई समूहमा विदेशी घुम्न जाने अनुमति ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडीएस) दिएकाले अबका दिनमा चिनियाँ पर्यटकको विश्व पर्यटन बजारमा एकतर्फी दबदबा रहने देखिन्छ ।
हुन पनि चीन सरकारले कोरोना महामारी मत्थर भएपछि विश्वका विभिन्न देशमध्ये पहिलो चरणमा ६० वटा देश र दोस्रो चरणमा ४० वटा देश गरेर जम्मा ६० वटा देशमा मात्रै आफ्ना नागरिकका लागि ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडीएस) जारी गरेको थियो । यसरी चीन सरकारले विस्तारै–विस्तार अन्य देशका लागि पनि आफ्ना देशका नागरिकलाई पर्यटक भई समूहमा घुम्न जान दिनका लागि ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडीएस) दियो । तापनि जनवरी महिना (सन् २०२४) को २७ तारिखका दिन आफ्ना देशका नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जान दिनका लागि २० वटा देशलाई ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडीएस) दिँदा त्यो सूचीमा नेपाल परेको थिएन । यसरी चीन सरकारले पहिलो चरणमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जानका लागि दिएको अनुमति अर्थात् ‘एडीएस’ मा परेका २० वटा देशको सूचीमा नेपाल नपरे पनि दोस्रो चरणमा भने नेपाल पनि चिनियाँ पर्यटकका लागि घुम्न पाउने देशको सूची (एप्रुभल डेस्टिनेसन)मा परेको थियो । त्यसैले गर्दा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक ठूलो पैमानामा बढ्ने आशा जगाएको थियो । भलै यो बीचको समयमा अनेक कारणले गर्दा चिनियाँ पर्यटकहरू सोचे जसरी नेपाल भ्रमणमा आउन सकेका छैनन्, आएनन् । तर पनि हामीले आगामी दिनमा अहिलेको भन्दा पाँच, छ, सात, आठ गुणा बढी संख्यामा चिनियाँ पर्यटकको नेपाल आगमन हुने आशा गर्न सकिन्छ । अथवा भनौँ न के–कति कारणले चिनियाँ पर्यटकहरू अपेक्षा अनुरूप नेपाल भ्रमणमा आएनन्, आउन चाहेनन् त ? सो सम्बन्धमा हामीले बृहत्–बृहद् ढंगले समीक्षा गरेर अगाडि बढ्नुपर्ने हुन्छ । विश्वका केही देशमा ठूलो संख्यामा चिनियाँ पर्यटक भ्रमण गर्न गइरहँदा नेपालमा चाहिँ किन आएनन् ? सो सम्बन्धमा हामी सबैले निर्मम भएर सोच–विचार गर्नुपर्ने हुन्छ, समीक्षा गर्नुृपर्ने देखिन्छ ।
उसो त नेपालमा पर्यटक संख्या बढाउनका लागि चीन सरकारले आप्mनो देशको राजधानी बेइजिङमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ आयोजना गरिने आयोजना गर्दैछ । धेरैपछि चीन सरकारको सदासयतामा नेपालमा चिनियाँ पर्यटकहरूको संख्या बढाउन चीनको राजधानी बेइजिङमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ आयोजना गरिने भएको हो खासगरीकन केही महिनाअघि चीनका उपविदेशमन्त्री सुन बेइतोङको नेपाल भ्रमणपछि सो समाचार पुनः व्यापकरूपमा प्रसारण–अपलोड–प्रकाशित भयो । नेपालका तत्कालीन प्रधानमन्त्री (अहिले पूर्व हुन लागेका) प्रचण्डले सन् २०२३ को सेप्टेम्बर महिनामा औपचारिकरूपमा चीनको भ्रमण गरेको बेला दुई देशको सरकारीस्तरमा तय भएको कार्यक्रम रहेको थियो ‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि चीनको राजधानी सहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ आयोजना गरिने’ कार्यक्रम । जुन कुरो प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा रहँदा दुई देशको सरकारी अधिकारीहरूले संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको थियो ।