काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि तीन दिने चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।
आव २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल चार सय ९१ जना अभिकर्तालाई कम्पनीका चेयरपर्सन श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्नुहुने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरेकी थिइन् । सो अवसरमा उनले आव २०८०।८१ मा समग्र जीवन बीमा बजार नौ दशमलव ९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनीय योगदान रहेको बताइन् । साथै, उनले कम्पनीको वित्तीय सूचकहरू पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तीय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरू, बीमितहरूलाई प्रदान गर्दै आएको प्रतिफल बोनस दर, पुँजीबजारमा कम्पनीको उपस्थिति, व्यापक अभिकर्ता सञ्जाल आदि सबैले आउने दिनहरूमा कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताइन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट व्यावसायिक अभिकर्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए । साथै, उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगतदेखि नै प्रयास गर्दै आइरहेको हँुदा उत्कृष्ट व्यवसाय गर्ने व्यावसायिक अभिकर्ताहरू थप उत्साहित भएको बताए ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेबाट सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थियो भने चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै कुनै पनि कार्यमा सफलता हासिल गर्नका लािग आफ्नो काममा विशेष फोकस गर्नुपर्ने बताए ।
सो समारोहमा आव २०८०।८१ मा एक सय वा सोभन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरू, नेसनल स्टार र नेसनल सुपर स्टार घोषित अभिकर्ताहरू, विगत १० वर्षदेखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरू, आव २०८०÷८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने सात जना र आफ्नो कोडबाट उत्कृष्ट व्यवसाय गर्ने सात जना अभिकर्ताहरूलाई पनि विशेष सम्मान गरिएको थियो । यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने एक जना गरी सात जना अभिकर्ताहरूलाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्रलगायत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । सम्मानित बिजनेश लिडरहरूले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।