काठमाडौं । हालसालै विभिन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार मुस्ताङ जिल्लाको माथिल्लो भाग अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या सन् २०२३ मा भन्दा सन् २०२४ मा १४ दशमलव २० प्रतिशतले बढी आएको तथ्याङ्क रहेको छ । समाचारअनुसार सन् २०२३ मा तीन हजार चार सय ८४ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए भने सन् २०२४ मा चाहिँ बढेर चार हजार ६१ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । यसरी तुलना गरेर हेर्दाखेरि माथिल्लो मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या सन् २०२३ मा भन्दा सन् २०२४ मा १४ दशमलव २० प्रतिशतले बढेको देखिन्छ ।
त्यसो त समग्रमा हेर्दाखेरि माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्या कुरो विभिन्न समयमा तल–बिलत (तलमाथि) भएको देखिन्छ । जस्तो कि सन् २०१९ मा तीन हजार ९१८ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’को भ्रमण गरेका थिए भने सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनबाट फैलन सुरु भएको कोरोना महामारीपछि सन् २०२० मा केवल ६२ जना विदेशी पर्यटक मात्रै माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ को भ्रमण गरेका थिए । त्यस्तै, गरेर सन् २०२१ मा चाहिँ तीन सय ३२ जना विदेशी पर्यटकले ‘ल्हो मन्थाङ’को भ्रमण गरेको तथ्याङ्क रहेको देखिन्छ । तर सन् २०२२ मा चाहिँ माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्या ह्वात्तै बढेर बढेर तीन हजार एक सय १२ जना पुगेको थियो । यसरी तथ्याङ्क नै हेर्ने हो भने माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्या सन् २०१७ मा सबैभन्दा बढी रहेको देखिन्छ । स्मरण रहोस्, सो वर्ष चार हजार एक सय १५ जना विदेशी पर्यटकले ‘ल्हो मन्थाङ’को भ्रमण गरेको तथ्याङ्क रहेको देखिन्छ ।
खासमा भन्ने हो भने विक्रम संवत् २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्रै ‘ल्हो मन्थाङ’मा विदेशी पर्यटकले भ्रमण गर्न पाउने व्यवस्था गरिएको हो । फलतः विसं २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित सर्तहरूसहित माथिल्लो मुस्ताङमा भ्रमण गर्न (विदेशीहरूले पर्यटकीय उद्देश्यले मात्रै भ्रमण गर्न पाउने गरी) खुला गर्यो । जस्तै, त्यसबेला माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने विदेशी पर्यटक कम्तीमा दुई जना हुनुपर्ने, सरकारमा दर्ता भएको टे«किङ एजेन्सीमार्फत मात्रै जान पाउने, अनिवार्यरूपमा एकजना सरकारी सम्पर्क अधिकृत लानैपर्ने (हाल सो व्यवस्था खारेज भइसकेको छ ।) १० दिनको सात सय डलर सलामी दस्तुर तिर्नुपर्ने (अहिलेचाहिँ घटाएर १० दिनको पाँच सय अमेरिकी डलर मात्रै रहेको छ सलामी दस्तुर), १० दिनमा ट्रेकिङ सक्नैपर्ने (आधार खुलाएर थप दुई दिन थप्न सकिने, त्यसका लागि प्रतिदिन थप एकजना पर्यटक बराबर ७० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने) वर्षमा एक हजारभन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिकलगायत अन्य सरसहयोग दिन नपाउने, दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने आदि सर्तहरूसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुला गरिएको थियो ।
नेपालका अन्य केही हिमाली क्षेत्रझैँ निषेध गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि खुला गरिएपछि पहिलो वर्ष (सन् १९९२ मा) चार सय ८३ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछिचाहिँ माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् उक्त वर्ष चाहिँ एक हजार ६६ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यस्तै, गरेर सन् १९९९ मा एक हजार ५७ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर, दुर्भाग्यवश बढोत्तरीको क्रम लामो समयसम्म जारी रहन सकेन । किनभने त्यसपछि देशमा तत्कालीन श्री ५ को सरकार र तत्कालीन विद्रोही पक्ष (माओवादी) बीच हिंसा प्रतिहिंसा सुरु भयो । फतलः सन् २००० देखि माथिल्लो मुस्ताङ भ्रमण गर्न आउने पर्यटकको संख्या तीन अंकमा झर्यो । यो क्रम सन् २००६ सम्म जारी रहेको थियो । त्यसै क्रममा २०६२/२०६३ मा आएको राजनीतिक परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पुनः बढ्न थाल्यो । यसरी माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ जाने विदेशी पर्यटकको संख्या बढ्ने क्रम सन् २००७ देखि पनि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा एक हजार एक सय ५७ विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । अझ सन् २००८ मा त स्थानीयवासीहरू नै आश्चार्य चकित हुने गरी विदेशी पर्यटकले माथिल्लो मुस्ताङमा भ्रमण गर्न आए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै दुई हजार एक सय ९४ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । त्यो बेलाको समयमा त्यत्रो संख्यामा विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गर्नु भनेको एक हिसाबले कीर्तिमान कायम गरे सरह रहेको थियो ।
यसरी हेर्दा समग्र नेपाली पर्यटनले छलाङ मार्दै गएको अवस्थामा माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्याले सन् २०२० पछि क्रमश छलाङ मारेको छ भन्न सकिन्छ । हुन पनि कयौं पटक विश्वका माथिल्लो मुस्ताङ विश्वका विभिन्न मिडिया तथा पर्यटकसँग सम्बन्धित संघ–संस्थाहको उत्कृष्ट सूचीमा पर्दै आएको छ । सोही क्रममा पछिल्लो पटक (गत वर्ष) अमेरिकाको न्युयोर्क सहरबाट प्रकाशित हुने ‘द न्युयोर्क टाइम्स’ नामक पत्रिकाले ‘सन् २०२४ मा विश्वका विभिन्न देशको विभिन्न ५२ वटा स्थान’लाई विश्वका पर्यटकले घुम्नैपर्ने सूचीमा राखेको थियो । सो सूचीमा हाम्रो नेपालमा रहेको माथिल्लो मुस्ताङ पनि ‘३७औँ स्थान’मा पर्न सफल भएको थियो । उक्त पत्रिका (‘द न्युयोर्क टाइम्स’) ले विश्वका विभिन्न देशको भ्रमण गरेर फर्केका भ्रमण प्रेमीहरूसँग सोधखोज र अध्ययन गरेर बनाउने गर्छ । हुन पनि भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तैउस्तै छ । त्यतिमात्रै होइन उनीहरूबीच धर्म, भाषा, भेषभुषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालनजस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका उही, खेती गर्ने तरिका उही । अझ माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक पहिचान के छ भने, माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै रहेका छन् । जहाँ प्राचीन समयमा मानव बस्ती रहेको भनी विभिन्न अनुसन्धानहरूबाट पत्ता लागेको छ । जुन विदेशी पर्यटकका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय वासिन्दा एवम् हामी र हाम्रो देशका लागि पनि गर्व गर्नलायक कुरा हो ।
उता माथिल्लो मुस्ताङ ‘लो घ्याकर’मा अवस्थित लगभग १४ सय वर्ष पुरानो बौद गुम्बाले पनि जुनसुकै विदेशी पर्यटकका लागि कौतुहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्यम सम्भवले तिब्बतमा बुद्र धर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् । हुन त हाल आएर नेपाल सरकारले माथिल्लो मुस्ताङ भ्रमणमा जान चाहने विदेशी पर्यटकका लागि महँगो शुल्क–दर (सलामी दस्तुर) तोकिएको भनेर स्थानीय बासिन्दाहरूले सो शुल्क–दर (सलामी दस्तुर) जति सक्दो चाँडो घटाउन सरकार समक्ष माग गरिरहेका छन् । अझ सुरुमा त माथिल्लो मुस्ताङ भ्रमण गरेबापत विदेशी पर्यटकले तिर्नुपर्ने सलामी दस्तुर १० दिनको सात सय अमेरिकी डलर तोकेको थियो भने कुनै पनि विदेशी पर्यटकले थप बस्न चाहेमा कारण खुलाएर हरेक दिनको थप ७० डलर तिर्नुपर्ने सर्त राखिएको थियो । धेरै विरोध भएपछि सरकारले पछि मात्रै १० दिनको पाँच सय अमेरिकी डलरमा झारेको हो ।
अन्तिममा कुरो नचपाई भन्नुपर्दाखेरि यो पङ्तिकारको विचारमा चाहिँ माथिल्लो मुस्ताङजस्तो विश्वकै प्राचीन, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको क्षेत्रमा ‘वेस्ट टुरिस्ट’ अर्थात् ब्याक प्याकरहरूलाई भिड गर्न दिनु (नेपाली पर्यटन व्यवसायीहरूको भाषामा भन्ने हो भने ‘झोले’ पर्यटक), जताभावी फोहर–मैला गर्न र स्थानीय कला, संस्कृति एवम् वातावरण विनास गर्नका लागि मात्रै भीड वा भनौँ लर्को लगाउनुभन्दा संख्या थोरै नै भए पनि गुणस्तरीय र गुनिलो पर्यटकहरूलाई मात्रै प्रवेश गर्न दिँदा माथिल्लो मुस्ताङवासीहरूको मौलिक संस्कार र संस्कृति जोगिने एवम् प्रकारले माथिल्लो मुस्ताङको वातावरणीय विनास रोकिने देखिन्छ । यसो गर्दा नै तपाईँहरूको दीर्घकालीन हित पनि हुन्छ ।