काठमाडौं । मुलुकको आर्थिक अवस्था कस्तो छ, सुधारतर्फ लागेको छ कि यथास्थितिमा नै छ वा झन् खराब हुँदैछ ? भन्ने देखाउने एउटा यन्त्र हो वैदेशिक व्यापार । नेपालको वैदेशिक व्यापार कहिल्यै पनि सन्तोषजनक रहेन । व्यापारघाटाको स्थिति आयात १० खर्ब हुँदा निर्यात एक खर्बको हाराहारीमा रहने गरेको अवस्था धेरै वर्ष भयो । व्यापारघाटा कम गर्नेबारे सरकारका सबै कार्यक्रम असफल भइरहेका छन् ।
त्यसको मूल्याङ्कन भने सरकारले सहिरूपमा गरेको पाइँदैन । जुनसुकै वर्षका बजेटमा व्यापारघाटा घटाउने प्रतिबद्धता आउँछन् । नियातलाई प्रोत्साहन गर्न भनी अनेक प्रकारका सुविधाहरू प्रस्तावित हुने गर्छन् । तर यता घाटामा सुधार भने आएको पाइँदैन । कतै यसले सरकारका यस्ता घोषणाहरू कि त कार्यान्वयनमा आइरहेका छैनन् कि त चुहावट भएर गइरहेका छन् भन्नैपर्ने अवस्था देखिन्छ । यस्तो किन भइरहेको छ भन्नेतर्फ गम्भीर समीक्षा हुने गरेको पाइँदैन । आयातित व्यापार बढेमा राष्ट्रिय आम्दानी पनि बढ्छ भन्ने सोचाइले नै सधैँ प्राथमिकता पाइरहेको हुनुपर्छ । यो एकदमै खराब कुरा पनि होइन । निर्यात नबढ्दा त्यसको कारण नखोज्नु आफैँमा आत्मघाती पनि हुन सक्छ ।
भन्सार विभागले माघको पहिलो हप्ता सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपाल संसारभरमा नै सबैभन्दा बढी व्यापारघाटा व्यहोर्ने मुलुकमा पर्ला । भन्सार विभागको विवरणमा उल्लेख भएअनुसार नेपालको व्यापार एक सय ५७ वटा मुलुकसँग कायम छ । त्यसमध्ये एक सय २४ वटा मुलुकसँग व्यापार घाटा कायम रहेका अवस्था छ । यो भनेको तेस्रो मुलुकसँग भइरहेको व्यापारमा करिब ८० प्रतिशत मुलुकसँग व्यापार घाटा कायम रहेको अवस्था छ हो । ३३ मुलुकसँग भने नेपालको व्यापार नाफामा नै रहेको देखिन्छ । तर परिमाण भने सानो छ । विभागले दिएको जानकारीअनुसार यो समयमा सबैभन्दा बढी व्यापार घाटा छिमेकी देश भारत र चीनसँग रहेको देखिन्छ । यी देशसँग व्यापारको आकार पनि ठूलो छ । त्यसकारण पनि घाटा पनि बढी देखिएको हुनुपर्छ । भारतसँग मात्रै चार खर्ब २९ अर्ब १४ करोड रुपैयाँको व्यापार हुन्छ । नेपालले सम्पूर्ण मात्रामा खपत गर्ने पेट्रोलियम पदार्थ भारतबाट मात्रै आउने भएको हुनाले पनि व्यापारको भोलुम र त्यसमा घाटाको अंक पनि बढी भएका हुनुपर्छ । अर्को छिमेकी देश चीनसँगको व्यापार अंक एक खर्ब ५८ अर्ब ६२ करोड आठ लाख रुपैयाँको छ । यसको अर्थ हो यी दुई मुलुकबाट बढी मात्रामा आयात भइरहेका छन् ।
माथि उल्लेख भएका एक सय ५७ वटा मुलुकमध्ये अर्जेन्टिना २२ अर्ब ६२ करोड ४६ लाख युक्रेन १३ अर्ब दुई करोड २३ लाख, अस्ट्रेलिया आठ अर्ब ५९ करोड ९३ लाख, थाइल्यान्ड सात अर्ब ६० करोड ६१ लाख, इन्डोनेसिया सात अर्ब ३६ करोड ४४ लाख र मलेसिया सात अर्ब ३० करोड २२ लाख रुपैयाँका दरले व्यापार घाटा देखिन्छ ।
यो भनेको छिमेकीदेखि धेरै टाढाका देशसँग पनि वायार त चलिरहेको छ तर घाटाका साथ । यसमा सबैभन्दा मार्मिक पक्ष के हो भने आम नेपालीका भान्सामा प्रयोग हुने कृषि उपजदेखि लिएर महँगा सवारीसाधनलगायतका सामग्रीहरू अत्यधिक मात्रामा आयात भइरहेका छन् । विज्ञहरूका अनुसार सरकारले कृषिजन्य उत्पादन र औद्योगिक उत्पादनलाई बढवा नदिँदा र वास्तविक कृषकलाई नसमेट्दा हालको समस्या देखिएको हुनुपर्छ । यसो हो भने राज्य तत्पर भए यस्तो घाटामा सुधार गर्न सकिन्छ । त्यस्तो ठाउँ छ । केहीअघि मात्रै कृषि मन्त्रालयले कृषिका नाममा ठूलो धनराशि अनुदानमा गएको चित्र देखाएको थियो । त्यसलाई सहीरूपले प्रयोग गर्ने हो भने पनि घाटा घटाउन सकिने अवस्था आउँछ । सरकारले ध्यान देओस् ।