काठमाडौं । अर्बिट इनर्जी लिमिटेडको सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौता—पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदीप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकास्थित साभाखोलाको पानी सदुपयोग गरी सभाखोला बी २१ दशमलव पाँच मेगावाट र सभाखोला सी छ दशमलव तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राइभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामग्रीहरू जडान गरी अबको एक वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।