काठमाडौं । कुनै पनि क्षेत्रको विकासका लागि लगानी पहिलो सर्त हो । लगानीविना कुनै पनि क्षेत्रको विकास र विस्तार सम्भव छैन । चाहे त्यो पूर्वाधार होस् त चाहे मानव संसाधन, शिक्षा र स्वास्थ नै किन नहोस्, विकासका लागि लगानी चाहिन्छ । तर लगानीको कुरा गर्दा प्रतिफलको पनि जोडिएर आउँछ । किनकि लगानीविना प्रतिफल सम्भव छैन । त्यसकारण प्रतिफल नआउने क्षेत्रमा सायद कमै लगानी हुन सक्छ । जहाँसम्म नेपालको विकास र लगानीको कुरा छ ।
नेपालको दिगो आर्थिक विकासको लागि मुलुकको आन्तरिक लगानी मात्र पर्याप्त छैन र हुँदैन । यस अर्थमा मुलुकको विकासका लागि विदेशी लगानीको आवश्कता पर्छ नै । नेपाल एक विकासोन्मुख राष्ट्र हो, जहाँ आर्थिक वृद्धि र पूर्वाधार विकासका लागि विदेशी लगानी (एफडीआई) अत्यन्तै महत्वपूर्ण मानिन्छ । भौगोलिक विविधता, प्राकृतिक स्रोतहरूको प्रचुरता, सस्तो श्रम शक्ति र उदीयमान बजारका कारण नेपालमा विदेशी लगानीको सम्भावना उच्च रहेको छ । विशेषगरी नेपालको ठूला–ठूला जलविद्युत्, आयोजना, सडक, पूर्वाधार, पर्यटन, सूचना तथा सञ्चार, प्रविधिलगायतका क्षेत्रमा लेपाललाई विदेशी लगानीको आवश्यकता रहेको छ ।
नेपालमा विदेशी लगानीको अपार सम्भावना छ । यथोचित नीति, पारदर्शिता र पूर्वाधारको सुधार गरिएमा नेपाल विदेशी लगानीकर्ताहरूको लागि आकर्षक गन्तव्य बन्न सक्छ । सरकारले राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण सिर्जना गर्न सकेमा आगामी दिनहरूमा एफडीआई वृद्धि हुने निश्चित छ । नेपाल एक सुन्दर, प्राकृतिक स्रोतहरूले भरिपूर्ण देश हो, जसले अझै पनि पूर्णरूपमा आफ्नो आर्थिक सम्भावनाको उपयोग गर्न सकेको छैन । यो अवस्थाबाट पार पाउन विदेशी लगानी एक महत्वपूर्ण उपाय हो । विदेशी लगानीले रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण, उत्पादनशीलता वृद्धि र समग्र आर्थिक वृद्धिमा योगदान पु¥याउँछ । नेपालमा विदेशी लगानीको सुरुवात १९८० को दशकबाट भएको हो । त्यसपछि सन् १९९२ मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याइएको थियो । यो ऐनले निजी क्षेत्रलाई प्रोत्साहन दियो र थुप्रै बहुराष्ट्रिय कम्पनीहरू नेपालमा प्रवेश गर्न थाले । नेपालमा हालसम्म भारत, चीन, अमेरिका, दक्षिण कोरिया, सिंगापुर, जापान र युरोपेली देशहरूबाट सबैभन्दा बढी लगानी भएको देखिन्छ ।
विदेशी लगानीको लागि सम्भावित क्षेत्रहरू
विदेशी लगानीको लागि सम्भावित क्षेत्रहरूको कुरा गर्दा ऊर्जा क्षेत्र नेपालमा पहिलो नम्बरमा आउँछ । विशेषगरी जलविद्युत् परियोजनामा विदेशी लगानी आकर्षित हुँदै आएको छ । माथिल्लो तामाकोशी, अरुण तेस्रो र त्रिशुली जलविद्युत् परियोजनामा भारत, चीन र अन्य देशहरूबाट लगानी भइसकेको छ । विदेशी लगानीको अर्को क्षेत्र भनेको पर्यटन क्षेत्र हो । हिमाल, सांस्कृतिक सम्पदा र जैविक विविधताका कारण विदेशी लगानीकर्ताहरू पर्यटन उद्योगमा उत्साहित छन् । रिसोर्ट, होटल, ट्राभल एजेन्सी आदि क्षेत्रमा लगानीको सम्भावना रहेको छ ।
यसैगरी औद्योगिक क्षेत्रमा पनि नेपालमा ठूलो विदेशी लगानीको सम्भावना रहेको छ । विशेषगरी उत्पादनमूलक उद्योग (ग्यारेमेन्ट, कृषि प्रशोधन, निर्माण सामग्री आदि)मा लगानी बढ्दो अवस्थामा रहेको छ । सूचना प्रविधि (आईटी) र सेवा क्षेत्रमा पनि विदेशी लगानीको सम्भावना रहेको छ । पछिल्ला वर्षहरूमा विदेशी कम्पनीहरूले नेपाललाई आईटी आउटसोर्सिङ गन्तव्यको रूपमा हेर्न थालेका छन् । हरित ऊर्जाअन्तर्गत सौर्य, वायु न र बायोग्यासमा पनि विदेशी लगानीको सम्भावना रहेको छ । यसैगरी स्मार्ट कृषिअन्तर्गत आधुनिक कृषि प्रणाली र कृषिजन्य उद्योगहरूमा पनि विदेशी लगानीको लागि ठूलो सम्भावना रहेको छ । इन्फ्रास्ट्रक्चरअन्तर्गत सडक, रेल, हवाई सेवा र स्मार्ट सिटीमा पनि विदेशी लगानीको ठूलो सम्भावना रहेको छ ।
विदेशी लगानीका चुनौतीहरू
नेपालमा विदेशी लगानीको सम्भावना भए पनि धैरै चुनौतीहरू रहेका छन् । ती धेरै चुनौतीमध्येको एउटा प्रमुख चुनौती हो, राजनीतिक अस्थिरता । नेपालमा लगानीमैत्री नीति बने पनि राजनीतिक अस्थिरताले दीर्घकालीन लगानीकर्तालाई प्रभावित पारेको छ । पूर्वाधारको अभावको अर्को चुनौती हो । यातायात, ऊर्जा र सञ्चार पूर्वाधार अझै कमजोर रहेका छन् । यसले गर्दा पनि नेपालमा विदेशी लगानी प्रभावित हुने गरेको छ । वैदेशिक लगानीको अर्को प्रमुख चुनौती भनेको नीति र कानुनी अस्पष्टता हो । ऐन, नियम र प्रक्रिया स्पष्ट नभएका कारण लगानी प्रक्रियामा ढिलाइ हुन्छ । न्यायिक प्रणालीमा ढिलाइ हुनु पनि अर्को कारण रहेको छ । व्यावसायिक विवाद समाधानमा ढिलाइ हुने प्रवृत्ति छ ।
वैदेशिक लगानी आर्कषित गर्न पछिल्लो समय भएका पहलहरू
नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न पछिल्लो समय धेरै पहलहरू भएका छन् । एकद्वार प्रणालीको स्थापना, विदेशी लगानी र प्रवर्द्धन बोर्डमार्फत सहजीकरण, उद्योगसम्बन्धी ऐनहरूमा सुधार, नयाँ विशेष आर्थिक क्षेत्रहरूको विकास आदि यस क्षेत्रको सुधारको लागि भएका केही प्रमुख पहलहरू हुन् ।
वैदेशिक लगानीको लागि नेपालमा यस्तो छ प्रक्रिया
नेपालमा विदेशी लगानी गर्न चाहने कम्पनी वा व्यक्तिले विभिन्न नियमहरूको पालना गर्नुपर्छ । जसमध्ये पहिलो हो, लगानी अनुमति लिनु । उद्योग मन्त्रालय वा विदेशी लगानी बोर्डमार्फत अनुमति लिनुपर्छ । त्यसपछि दोस्रो भनेको व्यवसाय दर्ता हो । यसको लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा गर्नुपर्छ । अर्को भनेको कर दर्ता हो । आन्तरिक राजस्व विभागमा करसम्बन्धी दर्ता आवश्यक हुन्छ । वैदेशिक लगानी स्वीकृतिका लागि कर दर्ता अनिवार्य रहेको छ । यसबाहेक सम्बन्धित निकायहरूमा पनि स्वीकृति आवश्यक पर्छ । पर्यटन बोर्ड, ऊर्जा आयोग आदि सम्बन्धित निकायबाट आवश्यक अनुमति लिनुपर्छ ।
नेपालमा हालसम्म करिब ९० भन्दा बढी देशबाट लगानी आइसकेको छ । ऊर्जा क्षेत्रमा लगानी सबैभन्दा बढी वैदेशिक लगानी रहेको छ । नेपालमा बढी लगानी गर्ने देशहरूमा चीन नेपालमा लगानी गर्ने शीर्ष देश बनेको छ । त्यसपछि भारत र अमेरिका रहेको छ ।
वैदेशिक लगानीका लागि सरकारको भूमिका
नेपाल सरकारले विदेशी लगानी प्रवर्द्धन गर्न केही मुख्य नीति तथा कार्यक्रमहरू अघि सारेको छ । जस्तै, विदेशी लगानी नीति २०७५ कार्यान्वयनको विकास सरकारले वैदेशिक लगानीका लागि सारेको प्रमुख कदम हो । नयाँ औद्योगिक ग्रामको विकास, विदेशी लगानी तथा प्रवद्र्धन बोर्डको सुदृढीकरण, लाभांश फिर्ता र सस्तो जमिन उपलब्ध गराउने सुविधा आदि सरकारले वैदेशिक लगानीको लागि खेलेको प्रमुख भूमिका हो । सरकारले आफ्नो भौगोलिक स्थिति, प्राकृतिक स्रोत, युवा जनसंख्या र क्षेत्रीय बजारमा पहुँचलाई सदुपयोग गर्न सकेमा विदेशी लगानीमा ठूलो सम्भावना रहेको छ । लगानीकर्तालाई स्थिरता, पारदर्शिता र सहजता चाहिन्छ । जुन दिन नेपालले यी सबै कुराको व्यवस्था गर्न सक्छ, त्यो दिन आर्थिक समृद्धिको ढोका अझ खुल्नेछ ।