काठमाडौं । भनिन्छ, पुस्तक ज्ञानको अमूल्य खानी हो । जसमा भन्ने नै हो भने मानव सभ्यताको विकाससँगै पुस्तकमैत्री संस्कृतिको जन्म भएको हो । यसमा ज्ञान, विज्ञान, संस्कृति र सभ्यताको संरक्षण र प्रवाहको मुख्य माध्यम बनेका पुस्तकहरूले संसारभरि मानव चेतनाको प्रगति सुनिश्चित गरेका छन् । यिनै पुस्तकहरूको महत्वलाई बुझ्दै संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनिस्को, युएनईएससीओ) ले सन् १९९५ देखि प्रत्येक वर्षको अप्रिल २३ तारिखलाई ‘अन्तर्राष्ट्रिय पुस्तक दिवस’ वा ‘वल्ड बुक एन्ड कपिराइट्स डे’को रूपमा मनाउने निर्णय ग¥यो । यसर्थ, आज यो दिवस विश्वभरि पुस्तकप्रेमी, लेखक, प्रकाशक, पाठक तथा शैक्षिक संस्थाहरूको लागि प्रेरणाको स्रोत बनेको छ । यसमा भन्ने नै हो भने नेपालजस्तो विविध संस्कृति, भाषाभाषी आदि परम्परा बोकेको देशका लागि पनि अन्तर्राष्ट्रिय पुस्तक दिवस अत्यन्तै महत्वपूर्ण रहेको छ । फलतः नेपालमा पुस्तकको इतिहास प्राचीन कालदेखि वर्तमान डिजिटल युगसम्म आइपुगेको छ । यस अर्थमा हामी अन्तर्राष्ट्रिय पुस्तक दिवसको महत्व, इतिहास, विश्वस्तरीय प्रभाव, नेपालमा यसको अवस्था, चुनौती, सम्भावना र सुधारका उपायहरूमाथि चर्चा गर्ने जमर्काे गरिएको छ ।
विश्वस्तरमा युनिस्कोले सन् १९९५ मा स्पेनको बार्सिलोना सहरमा आयोजित सम्मेलनमा २३ अप्रिललाई विश्व पुस्तक दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यो मितिलाई चयन गर्नुको विशेष कारणहरू थिए । जसमा शेक्सपियर, मिगुएल दे सेर्भान्टेस, इन्का गार्सिलासो डि ला भेगाजस्ता महान् लेखकहरूको मृत्यु यही दिन भएको थियो । यसमा पनि पुस्तक दिवस मनाउनुको उद्देश्यहरू निम्नानुसार उल्लेख गरिएको छ । यसमा सबैभन्दा पहिले त पढ्ने बानीको प्रवद्र्धन गर्नु हो त्यसैगरी दोस्रोमा पुस्तक र लेखकप्रतिको सम्मान बढाउनु हो । त्यस्तै, तेस्रो बालबालिका तथा युवामा साहित्यिक चेतना जगाउनु पनि हो । त्यसरी नै चौथौ पुस्तक उद्योग (लेखक, प्रकाशक, पुस्तक विक्रेता) लाई प्रोत्साहन गर्नु पनि एकातिर छ भने अर्को पाँचौँमा बौद्धिक सम्पत्तिको अधिकार (कपीराइट)को सम्मान र रक्षा गर्नु पनि हो । तसर्थ, मानव सभ्यताको विकासक्रममा पुस्तकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ । यसमा खासगरीकन ज्ञान, संस्कृति, इतिहास र साहित्यलाई संरक्षण गर्ने माध्यमको रूपमा पुस्तकले मानिसहरूलाई सदियौँदेखि जोडेको छ । यसैको महत्वलाई सम्मान गर्दै विश्वभर अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाइन्छ । यसको साथसाथै देशले पनि यस दिवसलाई उत्साहपूर्वक मनाउँदै आएको छ भने यसले देशभित्र पुस्तक संस्कृति बढाउन महत्वपूर्ण योगदान दिइरहेको छ ।
मुलुकमा पुस्तकको इतिहास अत्यन्तै पुरानो छ । जसलाई भन्ने नै हो भने प्राचीन समयमा नेपालमा पाटी–पौवा लेखनको चलन थियो । जसमा भोटे अक्षर, देवनागरी लिपि र संस्कृत भाषा प्रयोग गरिन्थ्यो । यसरी बौद्ध र हिन्दु मठमन्दिरहरूमा हस्तलिखित अझै पनि संरक्षित छन् । यसर्थ, विशेषगरी कीर्तिपुर, ललितपुर, भक्तपुरजस्ता पुराना सहरहरूमा पुस्तकालय संस्कृतिको विकास देख्न सकिन्छ । जुन मल्लकालीन राजाहरू, विशेषगरी राजा प्रताप मल्ल, पुस्तक संकलनमा रूचि राख्ने शासक थिए । फलतः राणाशासनकालमा भने जनतामा पढ्ने संस्कृतिको विकासमा अवरोध आयो । तर प्रजातन्त्रपछिको युगमा नेपालमा पुस्तक संस्कृति विस्तार हुँदै गयो । यसमा विशेषतः विक्रम संवत् २०१७ सालपछि साहित्यिक संस्था, पुस्तकालय, प्रकाशन गृहहरूको विस्तारविस्तारै विकास भयो । वस्तुतः देशको शिक्षा प्रणालीमा पुस्तकको महत्व अत्यधिक छ । जसमा भन्ने नै हो भने विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यपुस्तकको प्रयोग अत्यावश्यक छ । यसमा पनि सरकारले शिक्षा सबैका लागि भन्ने उद्देश्यअनुरूप पाठ्यपुस्तक निःशुल्क वितरण गर्दै आएको छ । जुन पुस्तक दिवसका अवसरमा विद्यालयहरूले विद्यार्थीहरूमा पढ्ने बानी बसाल्न सक्ने महत्वपूर्ण अवसर पाउँछन् । यस्ता गतिविधिबाट विद्यार्थीहरूमा सिर्जनशील सोच, आत्मविश्वास, भाषा सिप र सामान्य ज्ञानमा सुधार आउँछ ।
देशको सन्दर्भमा भन्ने नै हो भने अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवलोकन नेपालमा पनि केही वर्षदेखि यो दिवस विभिन्न कार्यक्रममार्फत मनाइन्छ । जसमा देशका ठूला सहरहरू काठमाडौं, पोखरा, धरान, चितवनजस्ता सहरमा स्कुल, कलेज, पुस्तकालय, साहित्यिक संस्था तथा लेखकहरूको सक्रियतामा निम्न कार्यक्रमहरू आयोजना हुने गरेका छन् । यसमा पुस्तक प्रदर्शनी तथा मेला, लेखक–पाठक अन्तक्र्रिया, कविता वाचन तथा निबन्ध प्रतियोगिता, बालबालिकाका लागि पुस्तक पढ्ने सत्र, पुस्तक दान अभियान र शैक्षिक गोष्ठी तथा सेमिनारहरू रहेका छन् । यसबाट समाजमा पढ्ने संस्कृतिको प्रवर्द्धन हुने, बालबालिकामा पढाइको अभिरुचि बढ्ने र लेखक तथा प्रकाशकलाई प्रोत्साहन प्राप्त हुने गर्छ । त्यसैगरी राष्ट्रको पुस्तक उद्योग विस्तारको चरणमा रहेको छ । देशमा कति हजार पुस्तक प्रकाशन गृहहरू दर्ता छन् । त्यसमा खासै तथ्याङ्क उल्लेख भएको पाइँदैन । जसलेगर्दा नेपाली, अंग्रेजी तथा अन्य भाषामा पुस्तकहरू प्रकाशित गरिरहेका छन् । विशेषगरी शैक्षिक पुस्तकहरू, साहित्यिक कृति, बालसाहित्य, सामाजिक अध्ययनका पुस्तकहरू उल्लेख्य छन् । यद्यपि, नेपाली पुस्तक बजारमा केही प्रमुख समस्याहरू पनि विद्यमान रहेका छन् । यसमा पठन संस्कृतिको कमी हुँदै डिजिटल युगको प्रभावले पुस्तक पढ्ने समय घट्दै गएको छ । त्यस्तै, पुस्तकालयको न्यूनता भएको कारणले गर्दा सहरी क्षेत्रहरूमा केही कम भए पनि ग्रामीण क्षेत्रमा पुस्तकालयको अभाव छ । जसमा पुस्तक वितरण समस्या देशको भौगोलिक बनावटका कारण पुस्तकहरू सबै ठाउँमा सहज रुपमा पुग्दैनन् र प्रकाशन लागत महँगो भएको हुँदा कागज, प्रिन्टिङ, ढुवानी खर्चका कारण पुस्तकको मूल्य महँगो पर्छ । जसलेगर्दा सामान्य व्यक्तिहरूले किताब पढ्नका लागि किन्न सक्ने स्थिति देखिँदैन । मूलतः आजको पुस्ता डिजिटल युगमा मोबाइल, इन्टरनेट, सोसल मिडिया आदिमा व्यस्त रहेका छन् । जसमा डिजिटल सामग्री सजिलै पहुँचमा हुने भएकाले पुस्तकमैत्री वातावरण कमजोर बन्दै गएको छ । तथापि, डिजिटल प्रविधि पुस्तक प्रसारको एक अवसर पनि बन्न सक्छ । जस्तैः ई–बुक्स र अडियो बुक्सको विकास, शैक्षिक एप्समार्फत बालबालिकामा पठन संस्कृति विस्तार, पाइरेसी पुस्तकहरूको प्रतिलिपि चोरी र अनाधिकृत बिक्रीले लेखक तथा प्रकाशकको क्षति गरिरहेको, अनलाइन पुस्तकालयको पहुँच आदि रहेका छन् ।
समग्रमा भन्नुपर्दा अन्तर्राष्ट्रिय पुस्तक दिवस केवल एक दिवस मनाउने कार्यक्रम मात्र होइन । यो चेतना जगाउने अभियान पनि हो । जसमा पुस्तक पढ्नु केवल परीक्षा पास गर्नका लागि मात्र होइन, जीवन बुझ्नका लागि पनि हो । यसरी अन्तर्राष्ट्रिय पुस्तक दिवसले नेपाली समाजमा शिक्षा, चेतना र संस्कृति विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मूलतः नेपालजस्तो विविधतायुक्त देशमा पुस्तकहरूले समुदायहरूलाई जोड्न र ज्ञानको आदानप्रदान गर्न सशक्त माध्यमको रूपमा काम गर्न सक्छ । यसर्थ मुलुकले आफ्नो समृद्ध साहित्य र सांस्कृतिक परम्परालाई यो अवसरमा अन्तर्राष्ट्रिय जगतमा अझ प्रख्यात गराउन सक्छ । देशको सन्दर्भमा हेर्ने हो भने नेपाली लेखक र साहित्यको योगदान प्रमुख नेपाली लेखकहरूले समाज परिवर्तन र चेतना अभिवृद्धिमा योगदान पु¥याएका छन् । उदाहरणका लागि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य शाकुन्तल, भानुभक्त आचार्यले अनुवाद गरेको रामायण, पारिजातको शिरीषको फूल आदि रहेका छन् । जुन पुस्तक नै सभ्यताको मेरुदण्ड हो । अतः राष्ट्रमा पनि यो दिवसलाई राष्ट्रिय तहमा प्रभावकारीरूपमा मनाउँदै, पुस्तक संस्कृतिको विकास गर्दै, शिक्षा प्रणालीमा गुणस्तर सुधार गर्न सकिन्छ । आजको पुस्तालाई सामाजिक सञ्जालको आभासी दुनियाँबाट केही समय अलग राखी, पुस्तकको वास्तविक संसारमा डुबाउने खाँचो छ । यसमा पनि प्रत्येक नागरिकले हप्तामा एक पुस्तक पढ्ने संकल्प गर्न सके, त्यो सायद राष्ट्र निर्माणको सबल आधार बन्न सक्छ । अन्ततः भनिन्छ पढ्ने बानीले नै जीवन बदल्छ ।