काठमाडौँ । नेपालले नौ महिनामा तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । चालु आर्थिक वर्षको २०८१/८२ को चैत्र मसान्तसम्ममा सो रकम बराबरको चिया निर्यात भएको हो ।
सो अवधिमा नेपालले पाँच करोड ६२ लाख रुपैयाँ बराबरको चिया आयात गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डका अनुसार यस सिजनको पहिलो टिपाइ भर्खरै सुरु भएकोले चालू आर्थिक वर्षमा चियाको निर्यात चार अर्ब ५० करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । गत आव २०८०/८१ मा एक करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले तीन अर्ब ६३ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको थियो । यस्तै, नेपालले तीन करोड ७८ लाख रुपैयाँ बराबरको चिया आयात गरेको थियो । तथ्याङ्कअनुसार यस वर्ष चियाको निर्यात र आयात दुवैमा वृद्धि हुने देखिएको छ ।
२९ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्डले पत्रकार सम्मेलन गरी चिया उत्पादन, निर्यात र आयातका बारेमा जानकारी गराएको हो । बोर्डको आव २०८०/८१ को तथ्याङ्कअनुसार नेपालमा कुल २० हजार सात सय ६० हेक्टर जमिनमा चिया रोपण गरिएको थियो । सो अवधिमा दुई करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नेपालमा १५ हजार दुई सय तीन जना चिया कृषकहरू, एक सय ७१ वटा टि–स्टेट र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्रहरू रहेका छन् । यस क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको कार्यकारी निर्देशक पाण्डेले जानकारी दिए । विभिन्न चुनौतीहरूका बाबजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकारवाला संघसंस्थाहरू एवं विशेषगरी निजी क्षेत्रको अथक प्रयासका कारण नै नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति एवं पहिचान देखाउन सफल भएको उनको भनाइ छ ।
पछिल्ला दिनहरूमा बजारीकरणको पाटोमा केही चुनौतीहरूको सामना गर्नुपरे पनि ग्रामीणस्तरसम्म रोजगारी सिर्जना गर्नेदेखि विदेशी मुद्राआर्जन गर्नसम्ममा नेपाली चियाले महत्वपूर्ण भूमिका खेलिरहेको छ । मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा रहेको बेला चिया क्षेत्रले देशको अर्थतन्त्रमा अतुलनीय योगदान दिएको बोर्डले जनाएको छ । यस्तै, बोर्डले चियामा थप लगानी आकर्षण गर्दै चियालाई पर्यटनसँग जोड्ने, अर्गानिक प्रमाणीकरणमा सहयोग गर्ने र स्टार्टअप सर्पोट प्रोग्रामअन्तर्गत युवा तथा महिला उद्यमीहरूलाई चियामा आकर्षण गर्ने गरी कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ ।