काठमाडौं । सन् २०२५ अप्रिल महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तथ्याङ्क हालसालै नेपाल पर्यटन बोर्ड (एनटीबी)ले बाहिर ल्याएको छ । एनटीबीको सो तथ्याङ्कअनुसार सन् २०२५ को अप्रिल महिनामा एक लाख १६ हजार चार सय ९० जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो संख्या भनेको सन् २०२४ को अप्रिल महिनाको तुलनामा लगभग पाँच हजारले बढी हो । साथै, सन् २०२५ को चार महिनामा जम्मा चार लाख १५ हजार ४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो तथ्याङ्क हेर्दा सन् २०२५ को चार महिनाको अवधिमा मासिक लगभग एक लाख चार हजार हाराहारी विदेशी पर्यटकहरू नेपाल गर्न भ्रमण आएको देखिन्छ ।
तर, हाम्रो देश नेपालको (तीनतिर) पूर्व–दक्षिण–पश्चिम सीमा जोडिएको छिमेकी देश भारतीय पर्यटकको संख्या भने खासै बढ्न सकेको छैन । जबकि अहिले भारत जनसंख्याको आधारमा विश्वकै ठूलो अर्थात् धेरै जनसंख्या भएको देशका रूपमा रहेको छ । स्मरणीय छ, अहिले भारतको जनसंख्या एक अर्ब ४४ करोड चानचुन पुगेको छ । त्यसो भए तापनि भारतीय जनसंख्याको सानो अंश मात्रै विभिन्न देश घुम्न निक्लन्छन् । अर्थात् विदेश भ्रमण गर्न जाने भारतीय पर्यटकको अहिलेसम्मको वार्षिक तथ्याङ्क हेर्दाखेरि वार्षिकरूपमा लगभग साढे १० करोडको संख्यामा भारतीयहरू मात्रै विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लिने गरेको तथ्याङ्क रहेको छ । तर, ती साढे १० करोड भारतीय पर्यटकहरूको एक प्रतिशत अंश मात्रै नेपाल भ्रमण गर्न आएमा नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकहरूको संख्या कति पुग्ला ? तर उल्टै किन विगतका वर्षहरूमा भन्दा कम संख्यामा भारतीय पर्यटकहरू नेपाल आइरहेका छन् त ? किन नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्या बढेको छैन, बढ्नुको सट्टा घटिरहेको छ ? हामीले गम्भीर भएर सोच्नुपर्ने भएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार सन् २०२५ को अप्रिलमा महिनामा नेपाल भ्रमण गर्न आएका भारतीय पर्यटकको संख्या अपेक्षा गरेभन्दा निक्कै कम अर्थात् २५ हजार नौ सय ३३ जना मात्रै नेपाल भ्रमण गर्न आए । त्यस्तै, गरेर मार्चमा महिनामा पनि केवल २१ हजार चार सय १२ जना भारतीय पर्यटकहरू मात्रै नेपाल भ्रमण गर्न आएका छन् भने फेब्रुअरी महिनामा पनि केवल १९ हजार एक सय ८७ जना भारतीय पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । साथै, जनवरी माहिनामा पनि चाहिँ २० हजार चार सय ८५ जना भारतीय पर्यकहरू नेपाल भ्रमण गर्न आएका थिए । तथापि पनि भारतीय नागरिकहरू नै धेरै वर्षअघिदेखि नेपालमा ठूलो संख्यामा विदेशी पर्यटकको रूपमा भ्रमण गर्न आउने गरेको वास्तविकता तथ्यचाहिँ हामीले स्वीकार्नुपर्ने देखिन्छ, स्वीकार्नुपर्ने हुन्छ ।
हालै आएको अर्को एक तथ्याङ्कअनुसार पछिल्लो पटक भारतीयहरू ठूलोे संख्यामा पर्यटक भई युरोप महादेशका विभिन्न देशहरू, अष्ट्रेलिया, अफ्रिका, मध्यपूर्व, दक्षिण र उत्तर अमेरिका महादेशका विभिन्न देशहरू, एसिया महादेशको थाइल्यान्ड, हङकङ, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मकाउ, भुटान, लाओस् आदि देश भ्रमण गर्न निक्लिन थालेका छन् । जस्तोकि यहाँ युरोप महादेशको एक देश जर्मनीको उदाहण लिउँ । जर्मनीमा भ्रमण गर्न जाने भारतीय पर्यटकहरूको संख्या सन् २०२१ को तुलनामा सन् २०२३ मा तीन सय पाँच प्रतिशतले बढेको थियो । त्यस्तै, ‘द इकोनोमिक्स टाइम्स’को ट्राभलसम्बन्धी लेख/फिचर/समाचारअनुसार ‘ट्राभल वल्र्डस’मा प्रकाशित एक समाचारअनुसार जर्मनीमा सन् २०२१ को तुलनामा सन् २०२२ मा दुई सय पाँच प्रतिशतले भारतीय पर्यटक आगमन वृद्धि भएको थियो । जर्मन ट्राभल मार्ट (जीटीएम) र जर्मन नेसनल टुरिज्म बोेर्ड (जेएनटीबी) का अनुसार सन् २०२२ मा छ लाख भारतीय पर्यटकहरू जर्मनीको विभिन्न पर्यटकीय क्षेत्र पर्यटकीय महत्वका ठाउँहरूमा पर्यटक भई भ्रमण गर्न गएका थिए ।
माथि नै पनि भनियो कि लामो समयदेखि नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक भई घुम्न आउने विदेशी पर्यटकको स्थान भारतीय पर्यटकहरूले नै लिएका छन् । तथ्याङ्क हेर्दाखेरि सन् १९७४/७५देखि नेपाल आउने विदेशी पर्यटकको संख्या लगातार सबैभन्दा धेरै भारतीय रहेको देखिन्छ । मतलब अहिलेसम्म भारतीय पर्यटकलाई अरू देशका पर्यटकहरूले संख्यात्मक हिसाबले जित्न सकेका छैनन् । सम्भवतः अरू केही वर्ष (एक दशक?) सम्म नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको पहिलो नम्बरमा भारतीय नागरिकहरू नै रहने छन् । किनभने उनीहरूलाई नेपाल भ्रमण गर्न भिसा शुल्क पनि लाग्दैन । त्यसो त केही वर्षपछि नेपालमा धेरै संख्यामा आउने विदेशी पर्यटको स्थान चिनियाँ पर्यटकले लिने सम्भावना रहेको देखिन्छ । अहिले नै पनि नेपाल आउने विदेशी पर्यटकको दोस्रो ठूलो संख्या उत्तरको छिमेकी देश चीन रहेको छ । चिनियाँ पर्यटकहरू विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने पर्यटकका रूपमा) को रूपमा विदेश घुमिरहेका थिए । अझै पनि घुमिरहेका छन् नै । तर, त्यसरी विश्वकै सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटकहरू नेपालमा चाहिँ किन कम संख्यामा आउँछन् त ? अथवा भनौँ चिनियाँ पर्यटकहरूले नेपाल भ्रमणमा आउँदाचाहिँ किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच–विचार गर्नुपर्ने देखिन्छ ।
फेरि पनि भारतीय पर्यटककै बारेमा कुरो गर्नु पर्दाखेरि आफ्नो भूगोलको आधा भाग एसिया महादेश र आधा भूगोल भाग युरोप महादेशमा पर्ने भए तापनि आफूलाई आधिकारिकरूपमा युरोप महादेशको देश मान्ने–ठान्ने ‘तुर्किए/टुर्किए’ (टर्की पुरानो नाम) मा भ्रमण गर्ने भारतीय पर्यटकहरूको संख्या सन् २०२४ मा बीस दशमलव सात (२० दशमलव सात) प्रतिशतले बढेको थियो । यता एसिया महादेशको सानो देश सिंंगापुरमा पनि सन् २०२४ मा विदेशी पर्यटक आगमनको संख्यामा भारतीय पर्यटकहरूको संख्या तेस्रो धेरै संख्या बन्न पुगेको थियो । त्यस्तै, सिंगापुर टुरिज्म बोर्ड (एसटीबी)ले जनाएअनुसार सिंंगापुरमा सन् २०२४ मा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या १२ लाख रहेको थियो । त्यसैगरी सन् २०२४ मा सिंगापुर भ्रमण दोस्रो धेरै पर्यटकचाहिँ इन्डोनेसियन पर्यटकहरू रहेका थिए । स्मरण रहोस्, सन् २०२४ मा २४ लाख ९० हजार इन्डोनेसियन पर्यटकले सिंगापुर भ्रमण गरेको थिए भने सन् २०२४ मा ३० लाख ८० हजार चिनियाँ पर्यटकहरू सिंगापुर भ्रमण गर्न गएर पहिलो स्थान बनाउन सफल भएका थिए ।
हो, नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्याको सन्दर्भमा भन्नुपर्दाचाहिँ सन् २०२३ को तुलनामा सन् २०२४ मा शून्य दशमलव सात (शून्य दशमलव सात) प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०२३ मा तीन लाख १९ हजार नौ सय ३६ जना भारतीय पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । सन् २०२४ मा चाहिँ तीन लाख १७ हजार सात सय ७२ जना भारतीय पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । त्यसो त यसको दोष सन् २०२४ मा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुनुलाई दिने गरिन्छ । एवं प्रकारले साउनको ११ र १२ गते लगातार दुई दिन आएको बाढी–पहिरोका कारण अवरुद्ध भएको सडक यातायात (बाटो–घाटो) लामो समयसम्म अवरोध नआएको भए साथै त्यसैको यताउताको समयमा हवाईजहाज र हेलिकप्टर दुर्घटनाहरू नभएको भएदेखि सन् २०२४ मा नेपाल आएका पर्यटकको संख्या शून्य दशमलव सात (शून्य दशमलव सात) प्रतिशतले घट्नुको सट्टा कम्तीमा पनि पाँच–छ प्रतिशतदेखि १४–१५ प्रतिशतले बढ्ने थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।
जे भए पनि अन्त्यमा भन्नुपर्दा हामीले अब अरू देशका पर्यटकका साथै भारतीेय पर्यटकहरूलाई सक्दो धेरैभन्दा धेरै संख्यामा भित्र्याउने प्रयास गर्नुपर्ने देखिन्छ । त्यसमा पनि अझ अलिक बढी खर्चिला खालका भारतीेय पर्यटकलाई नेपाल भित्र्याउनका लागि सक्दो पहल कदमी लिनुपर्ने देखिन्छ । हुन पनि भौगोलिक दूरीका हिसाबले हेर्दाखेरि हजारौँ किलोमिटर टाढाका युरोप महादेश, उत्तर अमेरिका महादेश, दक्षिण अमेरिका महादेश, अफ्रिका महादेश एवं धेरथोर संख्यामा अन्टार्कटिकातिर पनि भ्रमण गर्न जान आकर्षित भइरहेका छिमेकी देश (भारत)का पर्यटकलाई नेपालमा वार्षिकरूपमा कम्तीमा पनि आठ–नौ लाखदेखि ११–१२ लाखको संख्यामा कसरी भित्र्याउन सकिन्छ ? सो सम्बन्धमा हामीले बेला छँदै सोच्ने र आकर्षक कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ ।