काठमाडौं । हुन त समग्र हिमाल आरोहणको कुरो गर्दा नेपालको सबैभन्दा प्रसिद्ध एवं सुन्दर हिमालमा गनिने हिमाल आमा डाब्लम हिमाल हो । जुन हिमाल विश्वकै सुन्दर र प्रसिद्ध हिमालभित्र १०औं भित्र पर्छ । सो हिमालको उचाइचाहिँ ६८१२ मिटर रहेको छ । त्यसो भए पनि वर्षेनी (दुई सिजन वसन्त ऋतु र शिशिर ऋतु गरेर) विश्वका हजारौँ पर्वतारोहीहरूले आमा डाब्लाम हिमालको आरोहणका लागि अनुमति लिने गर्छन् । यो लेखमा मुख्य गरेर विश्वकै अग्लो ‘सगरमाथा–एभरेस्ट–चोमोलुङमा’ हिमालका बारेमा धेरथोर लेखिने छ । जुन हिमालको उचाइ ८८४८.८६ मिटर रहेको छ । साथै, यो हिमाल नेपाल सरकारलाई पर्वतारोहणबाट हुने आम्दानीको दिने मुख्य हिमाल (स्रोत) का रूपमा पनि रहेको छ ।
हुन त यो लेखमा समग्रमा पर्वतारोहणबाट नेपाल सरकारलाई हुने आम्दानीका सम्बन्धमा पनि चर्चा गरिने नै छ । विशेषतः पर्ततारोहणबाट हुने रोयल्टी अर्थात् सलामीबापत नेपाल सरकारलाई हुने आम्दानी विश्वकै अग्लो हिमचुचुरो सगरमाथा आरोहणबाट मात्रै लगभग ९० प्रतिशत गरेको छ । यो वर्ष वसन्त ऋतुमा समग्र नेपाली हिमाल आरोहण गर्न आएका विदेशी र स्वदेशी पर्वतारोहीबाट जम्मा ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी अर्थात् सलामीबापत नेपाल सरकारले आम्दानी गरेको देखिन्छ । यो सूचना केही समयअघि पर्यटन विभागले जारी गरेको प्रेस नोट÷प्रेस वक्तव्यमा दिइएको हो । विभागले प्रेस नोट जारी गरेर जनाएअनुसार यो वर्षको वसन्त ऋतुमा नेपालको वटा २६ हिमाल आरोहण गर्न एक सय १९ आरोहण दलका एक हजार एक सय २७ जना पर्वतारोहीहरूले अनुमति लिएका छन् । तीमध्ये दुई सय ४० जना महिला रहेका छन् भने आठ सय ८७ जना पुरुष रहेका छन् । तीमध्ये विश्वकै अग्लो हिमाल सगरमाथा आरोहणका लागि ४५ वटा पर्वतारोहण दलका चार सय ५६ जना पर्वतारोहीहरूले अनुमति लिएका छन् भने चार सय ५६ जना सगरमाथा आरोहीमध्ये ८४ जना महिला पर्वतारोही र तीन सय ७२ जना पुरुष पर्वतारोही रहेका छन् । त्यसमा ६३–६५ देखि ६९÷७१ प्रतिशतले सगरमाथा आरोहणकर्ताले सफलता प्राप्त गर्ने आशा गर्न सकिन्छ ।
नेपालमा रहेका विभिन्न हिमालको आरोहण गर्नका लागि नेपाल सरकारले पर्वतारोहीबाट लिने आरोहण दस्तुर वा सलामी अथवा र भनौँ रोयल्टीचाहिँ हिमालको उचाइअनुसार फरक दर/रेट तोकेको छ ।
१. सगरमाथा हिमाल आरोहण गर्न चाहने विदेशी पर्वतारोहीले (साधारण–चल्तीको–सजिलो बाटो भएर) वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर तिर्नुपर्छ । स्मरण रहोस्, यो दर÷रेट आगामी भदौ विसं २०८२) देखि बढाएर १५ हजार अमेरिकी डलर पु¥याएको छ, नेपाल सरकारले । शरद ऋतुमा सगरमाथा आरोहण गर्ने विदेशी पर्वतारोहीहरूले सलामीबापत ५५ हजार अमेरिकी डलर तिर्नुपर्छ । त्यस्तै, गरेर शिशिर ऋतुमा सगरमाथा आरोहण गर्न चाहने पर्वतारोहीहरूले २७ सय ५० अमेरिकी डलर सलामी रकम तिर्नुपर्ने हुन्छ ।
२. त्यस्तै, सगरमाथा आरोहण गर्नका लागि अन्य (साधारण–चल्तीको–सजिलो बाटोबाहेक) बाटो भएर आरोहण गर्न चाहने पर्वतारोहीहरूलाई चाहिँ वसन्त ऋतुमा १० हजार अमेरिकी डलर, शरद ऋतुमा पाँच हजार अमेरिकी डलर एवं शिशिर ऋतुमा चाहिँ केवल २५ सय अमेरिकी डलर तिरे पुग्छ ।
३. सगरमाथाबाहेक अन्य आठ हजार मिटरमाथिका हिमाल आरोहण गर्न चाहने विदेशी पर्वतारोहीहरूले तिर्नुपर्ने सलामी दस्तुरचाहिँ वसन्त ऋतुमा १८ सय अमेरिकी डलर रहेको छ भने शरद ऋतुमा नौ सय अमेरिकी डलर एवं शिशिर ऋतुमा चाहिँ केवल चार सय ५० अमेरिकी डलर तिरे पुग्छ ।
४. ७५०१ देखि ७९९९ मिटरसम्म उचाइ भएका अन्य हिमाल आरोहणका लागि विदेशी पर्वतारोहीहरूले वसन्त ऋतुमा छ सय अमेरिकी डलर रहेको छ । त्यस्तै, शरद ऋतुमा चाहिँ तीन सय अमेरिकी डलर एवं शिशिर ऋतुमा चाहिँ केवल एक सय ५० अमेरिकी डलर तोकेको छ, नेपाल सरकारले ।
५. ७०० मिटरदेखि ६९९९ मिटरसम्म उचाइ भएका अन्य हिमालको सलामी दस्तुर वसन्त ऋतुमा चार सय अमेरिकी डलर रहेको छ भने शरद ऋतुमा चाहिँ दुई सय ५० अमेरिकी डलर एवं शिशिर ऋतुका लागि एक सय २५ अमेरिकी डलर तोकिएको छ ।
६. त्यस्तै, गरेर ६५०१ मिटरदेखि ६९९९ मिटरसम्मको उचाइका हिमाल आरोहणको सलामी दस्तुरचाहिँ विदेशी पर्वतारोहीहरूका लागि वसन्त ऋतुमा चार सय अमेरिकी डलर रहेको छ । त्यस्तै, शरद ऋतुमा चाहिँ दुई सय अमेरिकी डलर एवं शिशिर ऋतुमा एक सय अमेरिकी डलर तोको छ ।
७. आमा डाब्लाम हिमाल आरोहणवापतको सलामी दस्तुरको भने अलग्गै दर÷रेट तोकेको छ, सरकारले । स्मरणीय छ, आमा डाब्लाम हिमाल आरोहणका लागि विदेशी पर्वतारोहीलाई वसन्त ऋतुमा चार सय अमेरिकी, शरद ऋतुमा पनि चार सय अमेरिकी डलर नै र शिशिर ऋतुमा चाहिँ दुई सय अमेरिकी डलर तोकिएको छ ।
८. पाँच हजार मिटरभन्दा तल (कम) उचाइ भएका हिमाल आरोहण गर्न चाहने विदेशी पर्वतारोहीलाई वसन्त ऋतुमा दुई सय पचास अमेरिकी डलर, शरद ऋतुमा एक सय १२ अमेरिकी डलर र शिशिर ऋतुमा चाहिँ केवल ७० अमेरिकी डलर मात्रै सलामी दस्तुर तोकेको छ, नेपाल सरकारले ।
सन् २०२२ मा हिमाल आरोहणका लागि वसन्त ऋतुमा विदेशी पर्वतारोहीहरूबाट नेपाल सरकारलाई रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । त्यसमा ६६ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा त सगरमाथा हिमालको सलामीबापत मात्रै प्राप्त भएको थियो । त्यस्तै, गरेर सन् २०२३ को वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले ७६ करोड चानचुन सलामी दस्तुर अर्थात् रोयल्टी बुझाएका थिए, नेपाल सरकारलाई । उक्त रमकमध्ये ६६ करोड ६४ लाख २० हजार रकम सगरमाथा हिमाल आरोहणका लागि तिरेको रकम मात्रै रहेको थियो भने सन् २०२४ को वसन्त ऋतुमा पनि नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले ६७ करोड ४७ लाख १४ हजार सलामीबापत पर्यटन विभागलाई विदेशी मुद्रा तिरेका थिए । त्यसमा ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रुपैयाँ बराबरको विदेशी मुद्रा सगरमाथा हिमालले मात्रै कमाएको थियो । त्यस्तै, सन् २०२५ (विसं २०८२) को वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले तिरेको राजस्व अर्थात् सलामी दस्तुर ६३ करोड ८२ लाख ९४ हजार चानचुन रहेको छ । यसमा अरु बढी सलामी दस्तुर थपिएको हुन सक्छ । किनभने माथिको तथ्याङ्क लगभग २१, १२ दिन अघिको हो । (तथ्याङ्क स्रोतः पर्यटन विभाग ।)
यसरी हेर्दा नेपालको पर्वतारोहण पर्यटनमा हिमाल आरोहणको मुख्य भूमिका देखिन्छ । खास गरिकन नेपाल सरकारलाई पर्यटन उद्योगबाट राजस्व प्राप्त हुने विभिन्न स्रोतहरूमध्ये प्रमुख स्रोतका रूपमा पर्वतारोहण पनि एक रहेको मान्न सिकिन्छ । त्यसमा पनि सगरमाथा हिमाल आरोहण गर्न आउने विभिन्न देश पर्वतारोहीबाट उठ्ने राजस्व अर्थात् आर्थिक योगदानलाई कम आँक्न मिल्दैन । किनभने माथि उल्लेख गरिएको तथ्य–तथ्याङ्क हेर्दा हालसम्म नेपालमा आरोहणका लागि खुला गरिएका चार सय ७६ वटा हिमालमध्ये पनि सगरमाथा हिमाल मात्रै यस्तो हिमाल हो, जुन हिमाल एक्लैले लगभग ९० प्रतिशत आम्दानी दिइरहेको छ, सरकारलाई । यसो हुनु स्वाभाविक पनि छ । किनभने, सगरमाथा हिमालको उचाइ अहिलेसम्म समुन्द्रबाट नाप्दाखेरि विश्वकै अग्लो हिमचुचुरोका रूपमा रहेको छ ।