काठमाडौँ । विश्व हवाई इतिहासमा सन् १९०३ डिसेम्बर १७ लाई विशेष दिन मान्ने गरिन्छ । उक्त दिन अमेरिकी नागरिकद्वय ओर्भिल राइट एवं विलबर राइट (दाजुभाइ)ले हवाई उडानसम्बन्धी कल्पना, अध्ययन, अनुसन्धान गरेर इन्जिन जडित यन्त्र (हवाईजहाज) बनाएर सफलतापूर्वक परीक्षण उडान गरेका थिए । त्यसरी राइट दाजुभाइले आफैँले बनाएको इन्जिन जडित यन्त्र (हवाई जहाज)लाई केही मानिसहरूका अगाडि उडाएर, प्रत्यक्ष देखाएर विश्वमै मानवले बनाएको यन्त्रको सहायताले आकाशमा उड्न सकिने सम्भावना रहेको देखाए । यसले मानव इतिहासमा छिटो–छरितो यात्राको सम्भावना निकट रहेको संकेत गरेका थिए । राइट दाजुभाइले अमेरिकाको नर्थ क्यारोलिना राज्यको ‘किल डेभिल हिल’मा आफूहरूले बनाएको हवाई जहाज उडाएर विश्वलाई आश्चार्यमा पारेका थिए ।
राइट दाजुभाइले त्यसरी व्यक्तिगतरुपमा मेहनत गरेर सामान्य खालको हवाई जहाज बनाएर परीक्षण गरेर उडाए देखाएयता हजारौँ डिजाइनका लाखौं–लाख हवाई जहाज बनिसकेको छ । यस्तो कामका लागि विश्वका धनी तथा विकसित एवं सूचना, सञ्चार र प्रविधिमा अगाडि रहेका कैयौँ देशहरूले ६, ७, ८ पुस्ताको नयाँ–नयाँ हवाई जहाजहरू बनाइरहेका छन् । त्यसमा नागरिकस्तरमा उडान गर्नलाई संयुक्त राज्य अमेरिकाको विमान निर्माता कम्पनी बोइङ, युरोपियन युनियन सम्बद्ध देशहरूको विमान निर्माता कम्पनी एयरबस, क्यानडाको विमान निर्माता कम्पनी, फोकर, डायमन्ड एयर क्राफ्ट कम्पनी, बीच क्रयाफ्ट, बमबार्डिएर, एम्ब्र्राएर, रेथिओन, नोर्थोप गनम्यान, कोमाक, साइरस एयरक्राफ्ट, साफ्रान, जनरल इलेक्ट्रोनिक्स, युनाइटेड एयरक्राफ्ट, लियोनार्दो आदि रहेका छन् । यसरी हेर्दा विश्वका ठूला–ठूला देशदेखि लिएर अति नै साना देशले आफ्नो देशमा हवाई यातायात सञ्चालन गरिरहेका छन् । यसको खास कारणचाहिँ हवाई यातायात छिटो र छरितो हुनु हो ।
जे होस्, माथिको छोटो गन्थन मन्थनपछि नेपालमा कहिले हवाई यातायात सुरु भयो ? भन्ने सम्बन्धमा केही जानौँ । सन् १९४९ अप्रिल २३ (विसं २००६ वैशाख ११) चार सिट क्षमताको बोनान्जा बीच एयर क्राफ्ट रहेको थियो । हुन त त्यसअघि चितवनको ‘झुवानी’ भन्ने ठाउँमा पहिलोपटक विमान अवतरण भएको भनी ‘हिमाल प्रेस’ नामक अनलाइनमा उल्लेख गरिएको छ । यसरी हेर्दा सन् १९५१ फेब्रुअरी १८ (विसं २००७ साल)को राजनीतिक परिवर्तनपछि चाहिँ नेपालको केन्द्रीय राजधानी काठमाडौंलगायत केही सहरोन्मुख स्थानमा हवाई जहाज उडान गर्न भनी हिमालयन एभिएसन लिमिटेडलाई तत्कालीन सरकारले अस्थायीरूपमा लाइसेन्स उपलब्ध गराएको थियो । त्यसपछि हिमालयन एभिएसन लिमिटेडले नेपालको केन्द्रीय राजधानी काठमाडौं, पोखरा, विराटनगर, सिमरा र जनकपुरमा हवाई उडान सुरु गर्यो । भनिन्छ, पछि आएर हिमालयन एभिएसन लिमिटेडले भारतको गोरखपुर सहरमा पनि हवाई उडान सुरु गरेको थियो । यसै क्रममा नेपाल सरकारको प्रथम पञ्चवर्षीय योजना (२०१३–२०१८) मा हवाई यातायातसम्बन्धी अलग्गै ऐन बनाएर ‘शाही नेपाली÷नेपाल वायुसेवा निगम (शानेवानी)’ गठन गरियो । विसं २०६३ को राजनीतिक परिवर्तनपछि चाहिँ ‘शानेवानी’लाई नेपाल वायुसेवा निगम (नेवानी) को नामले चिनिन्छ । यसरी सन् १९५८ मा बृहत् कार्य योजनासहित स्थापना गरिएको ‘शाही नेपाली/नेपाल वायुसेवा निगम (शानेवानी)’ ले ६७ वर्षको इतिहास बनाइसकेको छ । तर, नेपालको हवाई उडान क्षेत्रमा भने तत्कालीन ‘शानेवानी’ र अहिलेको ‘नेवानी’ले के–कति उन्नति र प्रगति ग¥यो हामीले भनी रहनु परोइन् ? किनभने नेपालको ‘शानेवानी’सँगै स्थापना भएको थाइल्यान्डको थाई एयरवेजलाई मात्रै हामीले उदाहरणका रूपमा लिन सकिन्छ ।
नेपाली हवाई यातायात क्षेत्रका सम्बन्धमा लेख्दै गर्दा यो लेखमा नेपाली हवाई यात्रुका सम्बन्धमा पनि केही लेख्दै छु । भनाइको मतलव सन् २०१९ देखि सन् २०२३ सम्म (पाँच वर्ष) यात्रा गरेका आन्तरिक हवाई यात्रुको संख्या उल्लेख गरिएको छ । एक तथ्याङ्कअनुसार सन् २०१९ मा ३१ लाख ८८ हजार चार सय २९ जना यात्रुले नेपालको विभिन्न क्षेत्रमा हवाई उडानमार्फत यात्रा गरेका थिए भने सन् २०२० मा चाहिँ केवल १३ लाख ४८ हजार आठ सय ९४ जना यात्रुले मात्रै हवाई उडानमार्फत यात्रा गरेका थिए । स्मरण रहोस्, यसो हुनुमा सन् २०२० को सुरुमै उत्तरी छिमेकी देश चीनबाट कोरोना महामारी (कोभिड–१९) फैलिनु रहेको थियो । कोरोना महामारी फैलिएकै कारण विश्वभरि हवाई, जल तथा सडक यातायात पूरै ठप्प भएको थियो । त्यस्तै, सन् २०२१ मा ३५ लाख ७६ हजार आठ सय ८३ जना हवाई यात्रुहरूले नेपालका विभिन्न क्षेत्रमा हवाई जहाजमार्पmत यात्रा गरेका थिए । उता सन् २०२२ मा त डबलभन्दा पनि बढी संख्यामा हवाई यात्रुहरू बढेर एक करोड एक लाख ३५ हजार ९३ जना यात्रुले नेपालका विभिन्न ठाउँमा हवाई जहाजमार्फत यात्रा गरेका थिए भने सन् २०२३ को ११ महिना (नोभेम्बर महिना)सम्ममा ७७ लाख ९४ हजार दुई सय १७ जना रहेको थियो । यसरी हेर्दा सन् २०२२ को हवाई यात्रीको तुलनामा केही हवाई यात्रु घट्ने अनुमान गर्न सकिन्छ ।
नेवानीको कुरो गर्दा अहिले नेपालभरि हवाई उडान गर्ने नेपालका निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले नेपालीलाई उछिनिरहेको अवस्था छ । सम्भवतः अहिलेको अवस्थामा नेवानीसँग आन्तरिक उडान गर्ने हवाई जहाज एउटा मात्रै सग्लो (चालू अवस्थामा) होला । त्यसैले वार्षिकरूपमा नेपालमा जति पनि आन्तरिक यात्रुहरूले हवाई यातायातमार्फत यात्रा गर्छन्, त्यसमा ९८ प्रतिशतदेखि ९९ प्रतिशतसम्म नेपालका निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले सञ्चालन गरेको हवाई जहाजमार्फत गरिरहेका छन् भनी ठोकेरै भन्न सकिन्छ । त्यसैले नेपालको आन्तरिक हवाई यातायात सेवामा नेवानीले पनि हवाई जहाज थपेर उडान वृद्धि गरेमा नेवानीले ६८ औँ वर्ष पार गरेर ६९ औँ वर्ष प्रवेश गरेको सार्थकता प्रमाणित हुन्थ्यो कि ?
नेपालमा विदेशी पर्यटक आगमन बढाउनका लागि नेपालले विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडान संख्या बढाउनमा जोड दिनुपर्ने देखिन्छ । अहिलेसम्म नेपालमा धेरै संख्यामा विदेशी पर्यटक आएको ‘सन् २०१९, २०१८’, २०२३ र २०२४ मा हो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । उता सन् २०२३ मा चाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १० लाख १४ हजार आठ सय ७१ जना पगेको थियो । त्यस्तै, सन् २०२४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पाँच सय ६७ जना पुगेको थियो ।