काठमाडौं । नेपालको हवाई यात्रा आफ्नै कमजोरी र लापरबाहीका कारण झन्झन् जोखिममा पर्दै गएको छ । हवाई कम्पनी र सरकारको नियमन गर्ने निकायको हदैसम्मको लापरबाहीले यस्तो स्थिति उब्जिएको भनेर विभिन्न अध्ययन प्रतिवेदनले सधैँजस्तो औँल्याइरहेको पाइन्छ । तर त्यसमा सुधार गरिएको भन्नेचाहिँ देखिँदैन । सम्भवतः यस्तै कारणले होला एउटा पूरै महादेशमा नेपालका विमानमाथि लागेको प्रतिबन्ध दुई दशकको हाराहारीमा आइपुग्दा पनि खुलेको छैन । पछिल्लो समय युरोपकै एउटा देशको राजदूत नियुक्त गर्ने सन्दर्भमा संसदीय सुनुवाइ समितिले तिनको भावी योजनाबारे सोधेको थियो । उनले युरोपमा उडान खोल्नेतर्फ आफ्नो विशेष पहल हुने बताए तर उनको यस्तो नियुक्तिको एक वर्ष पुग्दासम्म प्रतिबन्ध हटाउनेतर्फ कुनै पहल भएको देखिँदैन । बरु यस्तो प्रतिबन्धलाई मलजल पुग्ने गरी विमान दुर्घटना भने भइरहेका छन् । त्यसमा मानवीय त्रुटि औँल्याइरहिएको देखिन्छ तर त्यसमा सुधार गरिएको भन्ने विषय भने आउँदैन । केहीअघि विमानस्थलमा नै भएको एउटा ठूलो दुर्घटनाको प्रतिवेदनले झन् डरलाग्दो स्थिति नै प्रकट गरेको छ, जो अनुगमनका सन्दर्भमा दुखःद हो ।
एक वर्षपहिले विमानस्थलमा नै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पर्यो । त्यसमा १८ जनाको मृत्यु भयो । सरकारले त्यसै दिन पाँच सदस्यीय छानबिन आयोग बनायो । त्यही आयोगले दिएको प्रतिवेदनमा दुर्घटनाको प्रमुख कारण भनी जे उल्लेख भएको छ त्यो धेरै डरलाग्दो छ । यो कारणलाई होइन भनेर कसैले भनेका छैनन् तर अनुगमन गर्ने निकायका कुनै पनि पदाधिकारी र स्वयम् विमान कम्पनीका पदाधिकारी कसैले पनि यस्तो लापरबाहीबापत कसैले पनि केही भोग्नुपरेको देखिएन । हवाई क्षेत्र जोखिमयुक्त रहेको देखिने क्षेत्र पनि यही हो । प्रतिवेदनले दुर्घटनाको मुख्य कारणमा खराब मौसम, जहाजको इन्जिन वा अरु प्राविधिक समस्या होइन भनेको छ । निश्चय नै यो विमान कुनै इन्जिन फेल भएर वा खराब मौसममा डाँडामा ठोक्किएर दुर्घटना भएको थिएन । यसको कारण हो, मानवीय त्रुटि । प्रतिवेदनको पहिलो बुँदामा पाइलटको त्रुटि भनेको छ । उल्लेख भएअनुसार ‘टेकअफ’का क्रममा जहाजको ‘नोज’ प्रतिसेकेन्ड ३ डिग्री उचालिनुपर्नेमा उक्त जहाजको ‘पिच रेट’ ५.५ डिग्री प्रतिसेकेन्ड रहेको, जहाजको ‘नोज’ अत्यधिक उचालिएर गति कम हुँदा ‘डिप स्टल’ भएर जहाज खसेको, पाइलटले धेरै उडान गरेका भए पनि उनीहरूले विगत दुई वर्षमा सौर्यका दुई जहाज उडाउँदा १८ पटकभन्दा बढी ‘पिच रेट’को मापदण्ड उल्लंघन भएको, ‘टेकअफ’ गति मापन गर्ने ‘स्पिड कार्ड’मा यी पाइलट र सौर्यका अन्य पाइलटले बारम्बार गल्ती दोहो¥याएको अवस्थामा पनि यो विमान कम्पनीले कहिल्यै सुधार नगरेको देखिएको आदिआदि ।
प्रतिवेदनको अर्को बुँदामा यो एयरलाइन्सका जहाज उडानमा लापरबाही भइरहेको स्पष्ट हुँदाहुँदै पनि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुगमन र हस्तक्षेप गरेको देखिएन भनेको छ । बरु गैरव्यावसायिक उडानको अनुमति दिने, गैरव्यावसायिक उडानमा अनावश्यक प्राविधिक कर्मचारी राखेको आदि पनि यही त्रुटिभित्र पर्छन् । ककपिटमा भएको संवाद पनि शंकायुक्त रहेको भनिएको छ । जहाज उडान र उपकरणको अनुगमनको जिम्मेवारीमा रहेका को–पाइलटले जहाज बढी उचालिएपछि अस्पष्ट शब्दमा मात्र प्रतिक्रिया दिएको अडियो रेकर्ड भएको पाइयो तर त्यसपछि पनि कुनै स्पष्ट निर्देशन दिन सकिएको पाइएन ।
उल्लिखित विवरण धेरै घातक छन् । मुख्य कुरा यस्ता कैफियत भेटिँदा÷देखिँदा पनि अनुगमन गर्ने निकाय मौन बस्नु गम्भीर आपत्तिको विषय हो, जसले देशको आन्तरिक हवाई यात्रालाई भयावह बनाउँछ । यसमा सरकार मौन बसेर हुँदैन । तुरुन्तै उचित कदम चाल्न जरुरी छ ।