गत फागुन ७ गते प्रजातन्त्र (भारततन्त्र) दिवसका अवसरमा नेपाली कांग्रेस भोजपुर जिल्ला कार्यसमितिले सिनेमाको पोस्टर शैलीको मेरो तस्बिर (अनुहार) मञ्चमा सजाएर प्रमुख अतिथिका रूपमा एक सम्बोधनको कार्यक्रम आयोजना गरेको थियो । कोशी प्रदेशका सांसद विनोद वान्तवा (राई) जिल्ला कार्यसमिति भोजपुरका सभापति हुनुहुन्छ, सहिद दिवानसिंह राईको अभावले खाली भएको कांग्रेस जनाधारलाई पुनर्जागरित गर्ने अभियानमा अहोरात्र दत्तचित्त । उहाँलाई मैले भनेको पनि थिएँ, ‘तपाईँले मलाई चिन्नुभएको छैन । यसरी सम्मान अभिनन्दन गर्दा आरजु (देउवा) कांग्रेसको अनुशासनको डन्डा बर्सिएला नि ?’ मेरो यस प्रश्नमा उहाँको छोटो उत्तर थियो, ‘होइन दाइ । तपाईँ हाम्रो आदर्श, प्रेरणा स्रोत मार्गदर्शक इतिहास हुनुहुन्छ । चिनेर जानेर नै सम्मान कार्यक्रम आयोजना गरिएको हो ।’
निश्चय नै मेरा लागि यो कार्यक्रम चुनौतीपूर्ण थियो । सत्ताधारी कांग्रेसको आधिकारिक मञ्च भएका नाताले त्यहाँ भएको जमघटले राजधानीलगायत सम्पूर्ण पूर्वाञ्चलको नवजागरणलाई प्रतिनिधित्व गर्दथ्यो । त्यस कारण एक घण्टा बोल्नुपर्ने सामग्री सम्पादनमा मलाई पर्याप्त गम्भीर नभई धरै थिएन । त्यहाँ बोलेका मध्ये दुईटा पाठ्यक्रम यहाँ दोहोर्याएर (अन्यत्र पनि यसैगरी दोहोर्याउने गरेको छु) प्रतिपाद्य शीर्षक खाँणको ‘मन्दिर’मा खड्काको ‘मूर्ति’मा आइपुग्छु ।
(१) पहिलो पाठ्यक्रम : विस्तृतमा जान त एउटा पुस्तक नै चाहिन्छ । संक्षिप्तमा भयो के भने दोस्रो विश्वयुद्धमा महात्मा गान्धी (प्रथम विश्वयुद्धमा हाम्रा श्री३ चन्द्र शमशेरले जस्तै)ले बेलायतलाई रिक्रुट (सिपाही) आपूर्ति गर्ने सर्तमा भारत स्वतन्त्र हुनेभयो । बेलायतको रणनीति पाकिस्तान अस्तित्वमा ल्याएर (भारत विभाजन) नेपाललाई सुगौली सन्धिले गुमेको भूमि फिर्ता गर्ने थियो । त्यसका लागि नेपाललाई लिखित प्रस्ताव आयो । श्री३ प्रधानमन्त्री रुन्चे महाराज, कुरो सम्झेर बाथरुममा नुहाउँदा पनि बाहिरसम्म सुनिने गरी रुन्थे अरे, पद्म शमशेर थिए । उनले बेलायतको प्रस्तावमा टाउको मात्र हल्लाएका भए अहिले सुगौली सन्धिले गुमेको भूमि हामीसँगै हुन्थ्यो । तर राणा प्रधानमन्त्रीले भारत स्वतन्त्रता संग्रामका महानायक महात्मा गान्धीसँग नसोधी टाउको हल्लाउन आँट गरेनन् र तुलसी मेहर (इतिहासमा परिचित)लाई गान्धी आश्रम पठाए । गान्धीको परामर्श थियो : ‘नेपालको भूमि उसले फिर्ता पाउँदा मलाई आपत्ति हुने प्रश्नै उठ्दैन । तर श्री३ महाराजलाई सुनाइदिनु त्यस क्षेत्रका जनता यति धेरै जागिसकेका छन् कि राणाराज नै न ढलोस्’ त्यही जागरणले फिर्ता भूमि पनि जोगाउने गान्धीमा त्यति चेतना पनि थिएन भन्ने होइन । राष्ट्र धर्मअनुसारको गान्धीको त्यो चेतावनी नेपाली चेतनाले ठम्याउन न सक्दा त्यो अवसर गुम्यो । त्यत्रो ठूलो नेपाल आमाको आशीर्वाद पाइने ऐतिहासिक अवसर सिर्फ चेतना जागरण न पुगेर चुकेको (गुमेको) अध्याय अहिलेसम्म प्राइमरी स्कुलसम्मका पाठ्यक्रममा पठन–पाठन नहुनु नयाँ पुस्ताको नवजागरणका लागि ठूलो दुर्भाग्य भइरहेको छ ।
(२) दोस्रो पाठ्यक्रम : फागुन ७ ‘प्रजातन्त्र दिवस’ नभएर ‘भारततन्त्र दिवस’ भएको अकाट्य दशी प्रमाण विसं २००८ साल देखि ०२७ सम्म पूरै १९ वर्ष नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा भारतले सैनिक क्याम्प खडा गरेर चीनतिर बन्दुक तेस्र्याउँदै परेड खेल्ने गर्दथ्यो । यो भनेको पूर्णरूपमा नेपालको सार्वभौमिकता भारतको कब्जा (मुठीको माखो)माथि यो कालक्रममा चीनका अध्यक्ष माओत्सेतुङले श्री५ महेन्द्रलाई भारतको ‘प्रदेश गभर्नर’ भनेर सम्बोधन गरेपछि राजा छाँगाबाट खसेजस्तो झस्किए । राजा महेन्द्र ‘पृथ्वीपथ’का असली अनुयायी (असली कम्युनिस्ट) थिए । कूटनीतिक पनि माहिर । सन् १९६२ (वि.सं.२०१९)को भारत–चीन युद्धमा भारत सातो जाने गरी पछारिएको पृष्ठभूमिलाई अवसर छोपेर माओत्सेतुङसँग हात मिलाएर त्यस बलको आधारमा ०२७ सालमा १८ मध्ये १७ क्याम्प उखेल्न राजा सफल भए । नेहरूको लिखित अनुरोधमा एउटा क्याम्प ‘कालापानी’बाट उखेल्न थाँती रहेको अहिले त कथित ‘महाकाली सन्धि’बाट ‘कालापानी’लगायत लिपुलेक, लिम्पियाधुरा भारतको नक्साभित्र पुगिसकेको (अतिक्रमण) छ । राजा ज्ञानेन्द्रको भाषामा ‘नेपालमा जन्मेर पनि नेपाली मन नभएका’हरूले ‘महाकाली सन्धि’ गरेर देश बेच्ने राष्ट्रद्रोहीहरूको नामावली हरेक यस्ता आलेखहरूबाट इतिहासका विद्यार्थीलाई पाठ्यक्रम उपलब्ध हुनुपर्छ भन्ने मेरो ‘राष्ट्रधर्म’ हो । ती नामहरूमध्ये प्रथम खलनायक (खलक) हुन्, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा । राजा वीरेन्द्रले दरबार बोलाएर ‘महाकाली सन्धिमा हस्ताक्षर नगर, त्यो राष्ट्रघाती छ’ भन्दा भन्दै दिल्ली पुगेर हस्ताक्षर गरेका ‘झाँक्रीको अगाडि बोक्सी बकेको’ शैलीमा स्वयम् देउवाले नै खुलास (प्रेसमिट) गरेका हुन् । दिल्लीको प्रधानमन्त्री हस्ताक्षरपछि त्यसलाई संसद्को दुई तिहाइ बहुमतबाट पास गर्न भूमिका खेल्नेमा सभामुख रामचन्द्र पौडेल, एमाले महासचिव माधवकुमार नेपाल (वामदेवले पार्टी फोडेका थिए) राप्रपाका जलस्रोतमन्त्री पशुपति शमशेर जबरा, परराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनी र एमाले फुटाउन पृष्ठभूमिका पात्र देवराज घिमिरेले पुरस्कारस्वरूप अहिले सभामुखको खान्की पाएका छन् ।
यसमा मेरो कति मात्र प्रश्न हो भने नेपाली राजनीतिक नवजागरणका लागि यति धेरै ठूलो महत्वका ऐतिहासिक दुई अध्यायलाई डा. लोकराज बराल, केदारभक्त माथेमादेखि प्रा. कृष्ण खनाल, डा. सुरेन्द्र केसीसम्म हजार दुई हजार जति पनि भीसीका दाबेदार पाठ्यक्रम निर्माता प्राडाहरू छन्, तिनीहरूले के–कति कारणले यो पाठ्यक्रमलाई प्राइमरी स्कुलसम्म पुर्याएनन् ? यसै कारण मैले बोल्ने लेख्ने गरेको यो कालखण्ड विगत सात दशकको सबैभन्दा दुर्भाग्यपूर्ण कालो अध्याय बौद्धिक (चेतना÷जागरण) दिवालिया बेइमानी हो ।
यसमा एउटा तथ्य के प्रस्ट पारौँ भने जबसम्म माथि वर्णित पाठ्यक्रम जानकारीमा हुन्न तबसम्म प्रस्तुत ‘मन्दिर’ र ‘मूर्ति’ पाठ्यक्रमको अन्तर्यमा पुग्न सकिन्न ।
‘खाँण’ भन्नाले बालकृष्ण खाँण । आजका दिनका बालकृष्ण खाँणको चिनारी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर भिजिट भिषामा जस्तै मानव तस्करी अपराधमा जेल पुगेर धरौटीमा छुटेका अभियुक्त भन्ने सामाजिक सञ्जाल हात–हातका मोबाइलमा पाठ्यक्रम भाइरल छँदैछ । थप केही आवश्यक परेन । फेरि यो खाँणको चिनारी र चरित्र कांग्रेसको वर्तमान प्राय सबै प्राधिकार नेतृत्वका हकमा अक्षरंश चरितार्थ भएर सामान्यीकरण भइसकेको हुनाले यसमा मेरो कुनै टिप्पणी पनि छैन । मेरो चासो खाँणको अन्तर्य चेतना बुद्धिसँगको हो, जुन प्रस्ट छर्लङ्ग हुनेगरी साक्षात्कार जानकारी छ । त्यसबखत खाँण तरुनदलको सभापति थिए र थापाथली प्रसूतिगृह निकट कार्यालय कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईबाट उद्घाटनको कार्यक्रम थियो । त्यसबखत मेरो चिनारी आम कांग्रेसीमाझ किसुनजीको सहयोगीको रूपमा थियो र कसुनजीको साथ लागेर म पनि पुगेको थिएँ । त्यहाँ देखिएको एउटा दृश्य मलाई आश्चर्य लागेको थियो । कार्यक्रम बीपी र गणेशमानको फोटोमा माल्यार्पणबाट प्रारम्भ हुनु थियो । त्यसबखत कांग्रेसभित्र गिरिजा–गणेशमान द्वन्द्व चर्किएको थियो र गिरिजा पक्षधरमाझ गणेशमानलाई होच्याउने होड चलिरहेको थियो । त्यसमा खाँणहरूले के उपाय निकालेछन् भने माल्यार्पणका लागि सजाइएका बीपी र गणेशमानको फोटोलाई बीपीको भन्दा गणेशमानको होचो देखाउने, जुन गणेशमानजीको अपमान गरेको प्रस्टै अर्थ लाग्दथ्यो । त्यसबखत मैले किसुनजीलाई ‘हेर्नुहोस् तपाईँका तरुणदलका नेताहरको बुद्धि ! भनेर भन्दा औँलाले ओठ छोप्तै ‘चुप चुप’ भन्नुभएको थियो । त्यस्तो कूबुद्धिमा औँलो ठड्याउन खोज्दा किसुनजीले किन ‘चुप चुप’ भन्नुभयो त्यतिखेर बुझेको थिइनँ । अहिले आएर त्यो जमातले माओवादीको चुनाव चिह्न ‘हँसियाँ हथौडा’मा भोट मागेर एमालेसँग ‘सत्ता भागबन्डा’ गर्दै बीपी विचारको भाषण गर्दै गरेका भेटिँदा छर्लङ्ग भएको छ । किसुनजीको ‘चुप चुप’को अर्थ ‘यिनीहरूको बुद्धि त्यति नै हो, तिम्रो सजगता केही काम लाग्दैन । दुष्मनी बढाउनु मात्र हुन्छ’ भन्ने रहेछ । आज भए किसुनजीलाई भन्ने थिएँ अब ‘पृथ्वीपथ’को नवजागरण बीजारोपण भइसकेको छ, त्यस्तो बुद्धिको अन्त्येष्टि अपरिहार्य छ ।
दुई हप्ताअघिको मात्र कुरो हो, उनै बालकृष्ण खाँण विराटनगर शेखर कोइराला (बीपीको भाइबुहारी गिरिजाको भाउजुको छोरा)को घर पुगेर ‘मन्दिर’मा आइपुगेँ भनेका मिडियामा समाचार आयो । भुटानी शरणार्थी मानव तस्करी काण्डमा देउवाले आफ्नी स्वास्नी जोगाएर आफूलाई फसाएकोमा रिसाएर ‘देउवा क्याम्प’ छोडी ‘शेखर क्याम्प’ पुगेका आम मिडिया जगतले समाचार दिए । पंक्तिकारलाई यस्ता ‘यस्ता वरपर केही छैन, मुलाबारीको भित्ता’जस्ता समाचार चासो हुने प्रश्नै थिएन । मलाई उत्सुकता शेखर कोइरालाको घरलाई ‘मन्दिर’ देख्ने बालकृष्ण खाँणको पूजा गर्ने ‘मूर्ति’चाहिँ कुन भगवान्को होला ? जुन मूर्तिलाई शेखर कोइरालाले पनि पूजा गर्नेगरेको हुनुपर्दथ्यो । दाङमा ठड्याइएको खुमबहादुर खड्काको सालिक (मूर्ति)मा शेखर कोइरालाले फूल, माला, अविर, अक्षताले आरती उतारिरहेका अडियो भिडियो स्मृतिमा ताजा हुन आइपुग्यो । यसै तथ्यको आधारमा खाँणको ‘मन्दिर’मा खड्काको ‘मूर्ति’ ठहरमा पुगेको हुँ ।
खुमबहादुर खड्का नेपाली कांग्रेसको कुन हैसियतका नेता भन्ने आमजनले राम्रैसँग देखेभोगेकै हुन् । गिरिजाप्रसाद कोइरालाका दाहिने हात (प्रदिप गिरीलाई मरणासन्न हुनेगरी पिट्ने) उनले चाहँदा देउवालाई गिरिजाअगाडि र गिरिजालाई देउवाअगाडि घुँडा टेकाउन सक्ने भनेर शंकर भण्डारी, मोहम्मद अफताव आलम, डा. प्रकाशशरण महत आदि इत्यादि एउटा ठूलो जमातको दाबी विश्लेषण आम सबैले सुन्दै देख्दै आइरहेकै हो । भ्रष्टाचार मुद्दामा सजाय काटेर जेलबाट खड्का बाहिर आउँदा तरुणदल, नेविसंघलगायत कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, ध्रुव वाग्ले टाइपका आदि इत्यादि जमातले भारतको पटनाबाट ट्रकमा फूलमाला झिकाएर राजधानीका सडकमा अविरजात्रा गरेका थिए । जुन सौभाग्य सिके प्रसाई, भिमबहादुर तामाङ, शैलजा आचार्यजस्ता नेता कसैले पाएका थिएनन् ।
अन्त्यमा बीपीका कान्छा छोरा भ्रष्टाचारीका ‘नायक’ सामाजिक सञ्जालमा भाइरल भइरहेका वर्तमानमा बीपीका भतिजा विगतमा खड्काको ‘पुजारी’ भेटिनु कुनै नौलो कुरो भएन । अस्तु ।